२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नाकामा फेरि होल्डिङ सेन्टर

भैरहवा — कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न बेलहिया नाकामा पुनः होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

नेपाल–भारत सीमा हुँदै नेपाल आउने यात्रुलाई स्वास्थ्य परीक्षण र व्यवस्थापन गर्न बेलहियामा रहेको अध्यागमन कार्यालय र त्यहाँको खाली जमिनमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले हाल सञ्चालनमा रहेका हेल्थ डेस्क आवश्यक जनशक्ति र स्थानको अभावले प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेकाले होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । ‘आवश्यकताअनुरूपको जनशक्ति तयार गरी चाँडै होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारीमा जुटेका छौं,’ उनले भने, ‘होल्डिङ सेन्टर यात्रुलाई सहज र प्रभावकारी हुने गरी सञ्चालनमा ल्याइनेछ ।’

हाल सञ्चालनमा रहेका हेल्थ डेस्कमा भारतबाट नेपालतर्फ आउने सबै यात्रुको ज्वरोसमेत मापन हुन सकेको छैन । हेल्थ डेस्कमा आवश्यकताअनुरूपको जनशक्ति नहुनु र पर्याप्त स्थानको अभावले भारतबाट आएका एक जना यात्रुको ज्वरो मापन र विवरण राख्दा यात्रुको ठूलो भीड जम्मा भइसक्ने र १०/१२ जना यात्रु बिनापरीक्षण नेपाल प्रवेश गरिसक्ने स्थिति छ ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार प्रदेश र संघ सरकारको समेत सहयोगमा सञ्चालनमा ल्याउन लागिएको होल्डिङ सेन्टरमा यात्रुलाई विश्राम गराइनेछ । सबै यात्रुको कोभिडको संक्रमणको सामान्य लक्षण र ज्वरो मापन गरिनेछ । शंकास्पद यात्रुको तत्कालै त्यहीं अर्को कोठामा स्वाब परीक्षण गरिनेछ ।

संक्रमित यात्रुलाई अवस्था हेरी अस्पताल, क्वारेन्टाइन, होम क्वारेन्टाइन वा सम्बन्धित पालिकामा खबर गरी जिम्मा लगाइने तयारी पनि छ । यसका लागि होल्डिङ सेन्टरमा आवश्यक कुर्सी, टेबुल, कम्प्युटर, पंखा, बेड, ल्याब र जनशक्तिको प्रबन्ध मिलाइएको छ । ‘थाकेर आएका यात्रुलाई होल्डिङ सेन्टरमा आएपछि आफ्नो देश आएको अनुभूति हुने गरी सञ्चालनमा ल्याइँदैछ,’ प्रजिअ तामाङले भने, ‘भारतबाट यात्रु पनि आइरहनेछन्, यता होल्डिङ सेन्टरमा स्वास्थ्य परीक्षण पनि भइरहनेछ । लाइनमा उभिएर पर्खनु पर्दैन ।’

होल्डिङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको उनले बताए । होल्डिङ सेन्टरमा एक जना मेडिकल अधिकृतसहित ९ जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

प्रकाशित : वैशाख ३, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?