२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘ढुंग्री’ ले फेरियो जीवन

मधु शाही

बाँके — त्यो दिन महिल्का साईको घरमा भात पाकेन । श्रीमान्ले चामल ल्याउलान् र पकाउँला भन्दै राति ८ बजेसम्म प्रतीक्षा गरिरहिन् । भोकले रिंगटा लाग्यो । इँटाभट्टीमा काम गर्न गएका श्रीमान् राति रित्तै हात घर फर्किए । आठ जनाको परिवार भोकै पर्‍यो ।

‘ढुंग्री’ ले फेरियो जीवन

एक वर्षअघि कोरोना महामारीको चपेटामा परेका बेला भोग्नुपरेको त्यो क्षण ४५ वर्षीया महिल्काको मनमा अझै ताजै छ । त्यस दिन भोकै बिताउनु परेपछि उनले आम्दानीको विकल्प सोचिन् । नयाँ काम सुरु गरेपछि महिल्काको जीवनशैली अहिले फेरिएको छ ।

श्रीमान् एक जनाको कमाइ ताकेर गुजारा गर्नुपर्ने स्थितिबाट महिल्का अहिले मुक्त छन् । मुस्लिम समुदायमा छोरी, बुहारी र पत्नीले घरबाहिर काम गरेको त्यति राम्रो मान्दैनन् । उनले पनि यही परम्परालाई धर्मस्वरूप स्विकार्दै आएकी थिइन् । तर, भोको पेटले लामो समय उनलाई त्यसो गर्न दिएन । शारीरिक कमजोरीका कारण श्रीमान्ले मजदुरी गर्न छोडे । बुर्काभित्र बस्दै आएकी महिल्काले घरमै व्यवसाय सुरु गरिन् । घरकै आँगनमा चुलो बनाइन् । आफूभन्दा चौबर ठूलो कराहीमा बोराका बोरा ढुंग्री फुराउन थालिन् ।

दिनभरि ढुंग्री फुराउने अनि रातभरि प्लास्टिकमा प्याक गरेर बिहानै बजारसम्म पुर्‍याउने उनको दैनिकी छ । ‘घरका सबै परिवार मिलेर ढुंग्री प्याक गर्छौं,’ उनले भनिन्, ‘झिसमिसेमै बजार पुर्‍याउँछौं ।’ घरमा फुराएको ढुंग्री बजारसम्म पुर्‍याउने काम उनका पति र छोराले गर्छन् । मजदुरी गर्ने छोरासमेत ढुंग्रीमा राम्रो व्यापार देखेपछि यतै सघाउन थालेको उनले बताइन् । बजारमा ढुंग्रीको माग बढ्दै गएकाले उनको परिवार दिनानुदिन व्यस्त छ ।

रोजगारका लागि इँटाभट्टा र चोकमा भारी बोक्न बाटो हेरिरहनुपर्ने बाध्यता अहिले उनको परिवारलाई छैन । श्रीमान् बजारमा खटिन्छन् । महिल्का ढुंग्री बनाउनमै व्यस्त हुन्छिन् । उनका ५३ वर्षे श्रीमान् बड्की साई श्रीमतीको मिहिनेत देखेर दंग छन् । श्रीमतीले काम गर्नु हुँदैन भन्ने धारणामा परिवर्तन आएको छ । ‘सबैले कमाए घर खर्च चलाउन सजिलो हुँदो रहेछ,’ महिल्काले भनिन् । उनका अनुसार मजदुरी गरेर जोखिम मोल्दै कमाएको पैसाभन्दा घरमै बसेर दुःखले गरेको व्यापार फलदायी छ ।

कोरोनाको महामारीमा काम नपाएर भौंतारिनुपरेको पीडादेखि अब मुक्ति मिलेको बड्की साईले बताए । ढुंग्री बेचेरै महिनाको ३० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको उनले बताए । साइकलमा बोकेर बजार डुलाउँदा दिनमा दुई बोराभन्दा बढी ढुंग्री बिक्री हुने गरेको बताए । ‘घरकै परिवारले रोजगारी पाएका छन्,’ उनले भने, ‘श्रीमतीले हिम्मत गरिन्, मैले काम पाएँ ।’ श्रीमतीले काम गरेको देखेर छरछिमेकीले कुरा काट्दा बड्कीलाई सुरु–सुरुमा नमज्जा लाग्थ्यो । तर, समाजमा सबै मान्छे उस्तै हुँदैनन् । उनको मिहिनेत देखेर प्रशंसा गर्नेहरू पनि उत्तिकै छन् ।

श्रीमतीको व्यवसायमा सारथि बनेका बड्कीले पछिल्लो समय कुरा काट्नेलाई सुन्नै छाडेको बताए । उल्टै छोरा र बुहारीलाई समेत सँगै लिएर व्यवसायमा सक्रिय हुन हौसाएको उनले बताए । फुसले बनेको झुप्रोमा बड्कीको आठ जनाको परिवार रातदिन ढुंग्री बनाउँछन् । झुप्रोभित्र फस्टाएको व्यापारले महिल्काको आत्मबल बढेको छ । ‘पहिला सुतेर दिन बिताउँथें,’ उनले भनिन्, ‘अहिले काम र व्यस्तताले निद्रा नै लाग्दैन ।’

प्रकाशित : वैशाख २, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?