कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लुम्बिनीमा एकै दिन १५ हजार पर्यटक, व्यवसायी उत्साहित

मास्क अनिवार्य गरिए पनि अन्य सुरक्षा सतर्कतालाई बेवास्ता

लुम्बिनी/पाल्पा — नयाँ वर्षको अवसरमा बुधबार लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा घुमफिर गर्नेको भीड लाग्यो । तराईका प्रमुख पर्यटकीय क्षेत्र लुम्बिनी, बाँके र बर्दिया निकुञ्जमा सर्वसाधारण ओइरिएपछि चहलपहल बढेको हो ।

लुम्बिनीमा एकै दिन १५ हजार पर्यटक, व्यवसायी उत्साहित

यहाँका पहाडी क्षेत्रका ‘हिल स्टेसन’ पाल्पाको श्रीनगर, रानीमहल, गुल्मीको रेसुंगा, अर्घाखाँचीको नरपानी, प्यूठानको स्वर्गद्वारीमा मंगलबार र बुधबार पाहुना बढेका थिए । एकै दिन धेरै सर्वसाधारण घुम्न आएपछि स्थानीय पर्यटन व्यवसायी हौसिएका थिए ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण त्रास बढिरहेका बेला बुद्धस्थल लुम्बिनीमा नयाँ वर्ष मनाउन बुधबार घुइँचो लागेको हो । संक्रमणलाई बेवास्ता गर्दै यहाँ बिहानदेखि अबेर रातिसम्मै घुम्नेको भीड थियो । मुख्य प्रवेशद्वार ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म सात सय मिटरमा सर्वसाधारणको भीड थियो । उता अखण्ड शान्ति दीपदेखि मन्दिर पुग्ने पाँच सय मिटर बाटोमा पनि खुट्टा राख्ने ठाउँ थिएन ।

‘संक्रमणको डरत्रास बढ्दो छ,’ पाल्पाको रामपुरबाट लुम्बिनी आएका हरिशरण केसीले भने, ‘तर, बिहानै मोटरसाइकल चलाउँदै यहाँ आएँ ।’ प्रचण्ड गर्मी भए पनि लुम्बिनीको पवित्रता र महिमाले दुःखकष्ट भुलाएको उनले बताए । उनीजस्तै नवलपुरको कावासोतीका रामचन्द्र अर्याल पनि संक्रमण बढिरहेका बेला डराइडराइ आएको बताए । तर, नयाँ वर्षसँगै लुम्बिनी आएर आध्यात्मिक ऊर्जा सञ्चय गर्न पाउँदा निकै खुसी बनेको उनले सुनाए । दैनिक कामले थाक्दै तनाव झेलेका उनले यहाँ आएपछि शान्तिका अग्रदूतको महिमा र ऊर्जाको भावले गतिलो शान्तिको अनुभूति गरेको बताए । नयाँ वर्ष मनाउन पहिलो पटक परिवारसहित यहाँ आएका अर्यालले दुई दिन लुम्बिनीमै बिताएको बताए । ‘लुम्बिनीमा शान्ति, सद्भाव र भ्रातृत्वको राम्रो अनुभूति गरें,’ उनले भने, ‘जीवनलाई सकारात्मक बाटोमा डोर्‍याउने प्रेरणा पाएँ ।’

मायादेवी मन्दिर प्रवेश गर्न बिहानदेखि नै लाइन थियो । सुरक्षा सतर्कता अपनाउँदै सबैलाई मास्क लगाउन लगाइएको थियो । भौतिक दूरीको भने बेवास्ता गरियो । मन्दिर प्रवेशमा लुम्बिनी विकास कोषले शुल्क लिए पनि गेटमा सेनिटाइजर थिएन । ज्वरो नापिएको थिएन । अपनाउनुपर्ने सतर्कता नहुँदा चिन्ता बढाएको स्थानीयले बताए । ‘जोखिम बढ्दो छ,’ पथप्रदर्शक प्रह्लाद यादवले भने, ‘सतर्कता नअपनाए भयावह अवस्था आउने निश्चित छ ।’ विशेषतः लुम्बिनीमा रूपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँचीलगायत ठाउँबाट आन्तरिक पर्यटक आएका हुन् ।

बुधबार दिनभरि मात्रै होइन, साँझ अबेरसम्म पनि मन्दिर परिसरमा उस्तै भीड थियो । मायादेवी मन्दिर दर्शन गर्नेको दुई सय मिटर लामो लाइन लागेको थियो । नयाँ वर्षको पहिलो दिन १५ हजार बढीले मायादेवी मन्दिरको दर्शन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । बसपार्कमा सवारीसाधन राख्ने ठाउँ नभएर बाटो र कोष कार्यालयमा पार्किङ गर्नुपरेको उनले सुनाए । ‘४० मिनेट लाइन लागेर दर्शन गरें,’ कपिलवस्तुको शिवराज नगरपालिकाबाट आएका उपासक माधव बेल्बासेले भने, ‘आध्यात्मिक र शान्तिको ऊर्जा मिल्यो ।’ नजिकै भए पनि अहिलेसम्म नयाँ वर्षमा लुम्बिनी नआएको उनले बताए । ‘नयाँ वर्षमा पर्यटकको चाप थामी नसक्नु छ,’ लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले भने, ‘फास्टफुड, रेस्टुरेन्ट र क्युरियो पसलले राम्रै व्यापार गरे ।’ होटलहरू भने खाली थिए । रात बस्ने मान्छे नआउँदा होटलको व्यापार नभएको उनले सुनाए ।

श्रीनगर र रानीमहलमा पनि खचाखच

कोरोना त्रासका बीच नयाँ वर्षको स्वागत गर्नेको भीड पाल्पामा पनि उत्तिकै थियो । जिल्लाका पर्यटकीय स्थल रानीमहल र श्रीनगर डाँडामा नयाँ वर्षको स्वागतमा भीड लागेको हो । केही दिनअघि मात्र नगरपालिकाले सरसफाइ गरेको श्रीनगर डाँडा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले भरिभराउ बन्यो । नयाँ वर्षको पहिलो दिन बुधबार बिहानैदेखि श्रीनगर डाँडा भरिभराउ भएको थियो । नयाँ वर्षमा कोरोना त्रासका बीच आन्तरिक पर्यटक आएका हुन् ।

परिवार, समूह, नवजोडी श्रीनगरमा आएका थिए । नयाँ वर्ष मनाउन विभिन्न कार्यक्रम गर्ने, पिकनिक खाने र घुम्न आउनेहरूले श्रीनगरको रौनक बेग्लै बनाएको स्थानीय तानसेन–५ का अनिल थापाले बताए । ‘आन्तरिक पर्यटकको घुइँचो भयो,’ उनले भने, ‘कोरोना त्रासका बीच यत्तिको घुइँचो होला भन्ने लागेको थिएन ।’ अघिल्लो वर्ष लकडाउन थियो । श्रीनगर डाँडा पुग्नेले पानीको झन्झट बेहोर्नुपरेको छ । यहाँ धेरै वर्षदेखि नियमित आउनेहरूको बढी भीड लाग्छ ।

पहाडी जिल्लामा प्रकृतिको सुन्दरता भएर पनि यसलाई जोगाउनेतर्फ ध्यान नगएको यहाँ आएकी नवलपरासी, सुनवलकी टीकामाया पुन मगरले बताइन् । श्रीनगर डाँडाको रेखदेख गर्दै आएको तानसेन नगरपालिकाले व्यवस्थित गर्न नसकेको उनले सुनाइन् । प्रकृतिले दिएको सुन्दर उपहारको रूपमा श्रीनगर डाँडालाई लिने गरिन्छ । आन्तरिक पर्यटकको घुइँचो हुँदाहुँदै पनि श्रीनगरमा खानेपानीको अभाव, पिकनिक स्पट नहुनु जस्ता कारणले पर्यटकलाई खिन्न पार्ने गरेको उनको अनुभव छ । श्रीनगर डाँडाबाट सूर्योदय हेर्न बिहान ४ बजेदेखि नै यहाँ भीड लागेको थियो । नगरपालिकाले भने श्रीनगर डाँडामा कति आन्तरिक पर्यटक आए भन्ने तथ्यांक राख्न सकेको छैन । यहाँ आउने पर्यटकलाई टुरिस्ट गाइडको अभाव, पर्यटन सूचना केन्द्र नहुँदा समस्या छ । जिल्लाका साथै छिमेकी गुल्मी, अर्घाखाँची, स्याङ्जा, रूपन्देही, नवलपरासीबाट नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक यहाँ आएका थिए ।

अर्को पर्यटकीय क्षेत्र रानीमहलमा पनि भीड लागेको थियो । बिहानैदेखि पर्यटकको चहलपहल बढेको स्थानीय रिसोर्ट व्यवसायी सुशील कुँवरले बताए । ‘कोरोना त्रास भए पनि आन्तरिक पर्यटकको भीड अत्यधिक भयो,’ उनले भने, ‘यसले होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई उत्साहित बनाएको छ ।’ तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिरमा पनि नयाँ वर्षको पहिलो दिन बुधबार बिहानैदेखि भीड लागेको थियो । सिद्धार्थ राजमार्गको छेउमा रहेको मन्दिरमा दर्शन गर्न रूपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तुबाट दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको थियो ।

मुख्यमन्त्रीद्वारा प्रार्थना

नयाँ वर्षको उपलक्ष्यमा बुधबार लुम्बिनीमा भिक्षु/भिक्षुणीद्वारा आयोजित शान्ति पूजामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रार्थना गरे । नयाँ वर्षमा मुलुकबाट रोगव्याधि अन्त्य, आपसी सद्भाव, करुणा र मैत्रीको भावना पलाई विकासका लागि उपलब्धिमूलक बनोस् भन्ने कामना गर्न आयोजित प्रार्थना कार्यक्रममा मुख्यमन्त्री पोखरेल पत्नी सुजिता शाक्य र दुई छोरीका साथ सहभागी भएका हुन् । अनौपचारिक भ्रमणमा उनी सर्वसाधारणजस्तै गरी प्रार्थना गर्न बिहानै मायादेवी मन्दिरमा पुगेका थिए । उनले मन्दिरमा धूप र दीप पनि प्रज्ज्वलन गरे ।

प्रकाशित : वैशाख २, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?