२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सात वर्षपछि खुल्यो ट्य्राक

कालीगण्डकी करिडोर आयोजनाले ढिला गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने चेतावनी दिएपछि काम अघि बढेको थियो
करिडोर पूर्ण रूपमा सञ्चालनमा आएपछि नौ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने
माधव अर्याल

पाल्पा — चीन र भारत जोड्ने कालीगण्डकी करिडोर लोकमार्गको ट्र्याक खुलेको छ । आर्थिक मेरुदण्डका रूपमा प्रचार गरिएको करिडोर अन्तर्गत यसअघि पाल्पाको बगनासकाली–६, यम्घा मन्द्रानमा लामो समयसम्म ट्र्याक खुल्न सकेको थिएन ।

सात वर्षपछि खुल्यो ट्य्राक

चट्टाने भीर कटान गर्न ठेक्का लगाएको सात वर्षपछि ट्र्याक पूरा भएको हो । निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएपछि ट्र्याक निर्माण पूरा गरेको उत्तरदक्षिण (कालीगण्डकी) लोकमार्ग आयोजना (मालढुंगा–गैंडाकोट खण्ड) आयोजना प्रमुख सुवोध देवकोटाले बताए ।

‘ठेकेदारलाई काम लगाउन धेरै मिहिनेत गर्नु पर्‍यो,’ उनले भने, ‘वर्षौंदेखि अलपत्र परेको खण्डमा ट्र्याक खोल्न सकेकामा खुसी लागेको छ ।’ ४ सय ३५ किलोमिटर लम्बाइको यस सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । करिडोरका अधिकांश स्थानमा यसअघि ट्र्याक खुलाएर यातायात सञ्चालन भइरहेका छन् । जिल्लाको रानीमहल–राम्दी खण्डमा ट्र्याक नखुल्दा अवरोध भइरहेको थियो । अब कालीगण्डकी किनारका दुर्गम गाउँबस्ती बजार र व्यापारिक केन्द्रमा परिणत हुने उनले बताए ।

करिडोरको पहिलो खण्ड पूर्वी नवलपरासीको गैंडाकोटसम्म हो । दोस्रो खण्ड गैंडाकोटदेखि पाल्पाको राम्दी, रिडीका साथै गुल्मीको रुद्रवेनी, हर्मिचौर हुँदै बागलुङको मालढुंगासम्म छ । तेस्रो खण्ड मालढुंगादेखि मुस्ताङको कोरला नाकासम्म पर्छ । कोरला खण्डमा कालोपत्र अन्तिम चरणमा पुगेको छ । २ सय ४५ किमि लामो दोस्रो खण्डका विभिन्न स्थानमा कालोपत्र गर्न थालिएको छ । गैंडाकोटदेखि राम्दी खण्डको १ सय ३० किमिमध्ये १५ किलोमिटरमा कालोपत्र भइसकेको आयोजना प्रमुख देवकोटाले बताए ।

निर्माण व्यवसायीको लापरबाही बढेपछि ठेक्का तोड्ने चेतावनी आयोजनाले दिएको थियो । त्यसपछि ट्र्याक खोल्ने काम सुरु गरेको हो । यम्घा, मन्द्रान भीरमा आठ वर्षअघि लगाएको ठेक्का अन्तर्गत झण्डै ५ सय मिटर सडकमा ट्र्याक खुलेको थिएन । ट्र्याक नखुल्दा राम्दीबाट रानीमहल हुँदै रिडी जान सकिएको थिएन । ट्र्याक खोल्न आठ वर्षअघि ठेक्का लागेको हो । यसअघि निर्माण व्यवसायीले काम गर्न आलटाल गर्दै आएका थिए । भीरमा काम गर्न अप्ठेरो भएको भन्दै व्यवसायीले काम नगर्दा ट्र्याक नै खुल्न सकेको थिएन । सरकारको गौरवको आयोजना अन्तर्गत करिडोरको पाल्पा खण्डमा ट्र्याक नखुल्दा प्रगति देखिएको थिएन । आयोजना कार्यालयले समयमा काम नसक्ने र ढिला काम गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । त्यसपछि व्यवसायीले दुई जेसीभी ल्याएर भीरमा काम थालेको हो ।

ठेक्का लिएर आठ वर्षदेखि ट्र्याक नखोल्ने नेपाल प्रगति–सन्तोषी–प्यासिफिक जेभीलाई चेतावनी पत्र पठाएको थियो । पाल्पाकै दैलातुङ–रानीमहल सडख खण्डमा काम नगर्ने हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिलाई पनि पत्र पठाएको आयोजना प्रमुख देवकोटाले बताए । त्यसैगरी, स्याङ्जा–पर्वतमा ट्र्याक खोल्ने काम गर्ने सूर्य कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राख्ने चेतावनीसहित पत्र पठाएको उनले बताए । ‘निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएपछि बल्ल काम सुरु भएको थियो,’ प्रमुख देवकोटाले भने । १० किलोमिटर खण्डमा नेपाल प्रगति–सन्तोषी–प्यासिफिक जेभीले ०७३ फागुन ३० गते सम्पूर्ण काम सक्ने गरी ठेक्का लिएको थियो । ०७० चैत ३० गते सम्झौता भएको सडकमा ट्र्याक खोल्ने र स्तरोन्नतिका लागि ७ करोड ४० लाख रुपैयाँमा ठेक्का लिएको हो । सार्वजनिक खरिद ऐन, २०६४ को नवौं संशोधनको अधिकार प्रयोग गरेर कारबाहीका लागि पत्र पठाएपछि ट्र्याक खोलेको आयोजना प्रमुख देवकोटाले बताए ।

व्यवसायीले पटक–पटक म्याद थप गर्दै काम गरेका थिएनन् । यसपटक ट्र्याक खुलाउनका लागि थोरै साइटसमेत परिवर्तन गरिएको छ । निर्माण व्यवसायीको लापरबाही र विगतका आयोजना प्रमुखको बेवास्ताले नै ट्र्याक खुल्न नसकेको स्थानीयको आरोप छ । ठेक्का लिएका व्यवसायीले ७२ प्रतिशत भौतिक प्रगति गरेका छन् । बाँकी २८ प्रतिशतमा कामै भएको थिएन । ‘एउटा जेसीभी ल्याउने र थोरै थोरै काम गरेर छोडिरहेको अवस्था थियो,’ स्थानीय सुमन न्यौपानेले भने, ‘निर्माण व्यवसायीले काम नगरेर नै अहिलेसम्म ट्र्याक खुल्न नसकेको हो ।’ कार्यालयबाट पनि यस क्षेत्रमा ट्र्याक खुलाउन बेवास्ता भएकाले काम नभएको उनले बताए ।

करिडोरकै दैलातुङदेखि रानीघाटसम्मको ट्र्याक खुले पनि मापदण्ड अनुसार काम भएको छैन । खोलेको ट्र्याक पहिरोले पुरिएको छ । यस खण्डको हिमदुङ एण्ड ठोकर कन्स्ट्रक्सनले ठेक्का लिएको हो । चार किलोमिटर खण्डका लागि ८५ लाख रुपैयाँमा ०७० जेठमै सम्झौता भएको हो । ०७२ साल असार २९ गते सम्पूर्ण काम सक्ने गरी भएको सम्झौता अहिलेसम्म कार्यान्वयन भएको छैन । उसले ५७ प्रतिशत काम सकेको आयोजना कार्यालयले जनाएको छ । करिडोर अन्तर्गत गुल्मीको रिडीदेखि पुर्तिघाट खण्डमा कालोपत्रको काम अघि बढेको छ । गुल्मी र बाग्लुङमा सेनाले ट्र्याक खोलेको हो । करिडोर पूर्णरूपमा सञ्चालनमा आएपछि पूर्वी नवलपरासी, पाल्पा, तनहुँ, स्याङ्जा, गुल्मी, बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । करिडोरले धार्मिक एवं व्यापारिक क्षेत्र निर्माणमा समेत सहयोग पुग्ने विश्वास यस क्षेत्रका जनप्रतिनिधिको छ ।

प्रकाशित : वैशाख १, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?