गुल्मीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

माधव अर्याल

पाल्पा — गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङमा पनाहा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मंगलबार मृत्यु भएको छ ।

अग्लुङका सन्जिव विकका छोरा ५ वर्षीय सुमन विक र मदाने–३, सिर्सेनीका विष्णु विकका छोरा ८ वर्षीय गोविन्द विकको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

प्यूठानको गौमुखी गाउँपालिका–५, घर भएकी विष्णु विक माइती आएका बेला छोरा गोविन्दको मृत्यु भएको हो । उनी भारतबाट नयाँ वर्ष मनाउन सोमबार मात्र आएका बेला पनाहा खोलाको ढाडको रह भन्ने स्थानमा नुहाउने क्रममा डुबेको प्रहरीले जनाएको छ।

डुबेर बेहोस भएका दुवैको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोट दह लैजाने क्रममा निधन भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरी निरीक्षक महेश्वर उपाध्यायको टोली खटिएको छ ।

प्रकाशित : चैत्र ३१, २०७७ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?