२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ज्वरो मापनमै लापरबाही

सुनौली–भैरहवामा स्वास्थ्यकर्मीले जाँच्नै भ्याउँदैनन् 
कपिलवस्तुको मर्यादापुर नाकामा हेल्थडेस्क नै छैन
बाँकेमा जाँच नगरी पस्न पाइँदैन, जाँचेको १५ मिनेटमै रिपोर्ट 

भैरहवा/कपिलवस्तु/नेपालगन्ज — कोभिड–१९ संक्रमणको दोस्रो लहरले भारतका विभिन्न सहर पुनः प्रभावित हुँदै गर्दा सुनौली–भैरहवा नाकामा भने जाँचमा कडाइ छैन । हेल्थ डेस्क राखिएको छ तर भारतबाट नेपाल पस्ने सबैको अनिवार्य ज्वरो जाँचमा भने सक्रियता देखिएको छैन ।

ज्वरो मापनमै लापरबाही

नेपाल पस्नेमध्ये केहीलाई मात्रै सीमामा सोधपुछ गरी ज्वरो मापन गर्ने र अभिलेख राख्ने गरिएको छ । नेपाल पस्ने सबैको नछुटाई जाँच गर्न जनशक्ति नपुग्ने हेल्थ डेस्कका स्वास्थ्यकर्मीले बताए । जाँच गर्न सकेसम्म प्रयास गरे पनि त्यसका लागि चाहिने संख्यामा जनशक्ति नभएको अहेव लालमोहन चौधरी बताउँछन् । सामान किनमेल गर्न सुनौली गएर फर्केका नेपाली उपभोक्ता, दैनिक ज्यालादारीमा काम गर्न आउने भारतीय मजदुर, आँखा उपचार गर्न आउने बिरामीको सीमामा अत्यधिक चाप हुने गरेको छ । धेरैको ओहोरदोहोर हुने ठाउँमा ज्वरो मापन गर्न र अभिलेख राख्न सीमित स्वास्थ्यकर्मी छन् । एक जनाको विवरण राख्दा र ज्वरो मापन गर्दाको समयसम्म १५/१६ जना यात्रु सिमानाबाट पार भइसक्ने अवस्था छ ।

सुनौली नाकामा कोरोनासँगै मलेरियासमेतको संक्रमणको जोखिमबाट सावधानी अपनाउन भन्दै विगत दुई हप्तादेखि नाकामा हेल्थ डेस्कलाई क्रियाशील गराइएको थियो । नाकामा ल्याब कक्षसहितको हेल्थ डेस्क सञ्चालनमा छ । कोरोना संक्रमणसँगै मलेरिया संक्रमणबारे पनि सिमानामै सावधानी अपनाउने गरेको दाबी सरकारी पक्षबाट गर्ने गरिएको छ । एउटा डेस्कमा ज्वरो मापनसहित यात्रुमा संक्रमणको लक्षण भए/नभएको स्क्यानिङ गर्ने, विवरण राख्ने र अर्को डेस्कमा स्क्यानिङ गर्दा शंकास्पद देखिएका यात्रुलाई आराम गर्न लगाएर तत्कालै आरडीटी परीक्षण गर्न हेल्थ डेस्कको स्थापना गरिएको हो ।

शुक्रबार दिउँसो सीमा नाकामा पुग्दा भारतबाट नेपाल प्रवेश गर्ने यात्रु विगतका दिनको तुलनामा लाइनमा बसेर पालैपालो हेल्थ डेस्क हुँदै सुरक्षाकर्मीको सोधपुछपछि मात्रै नेपाल प्रवेश गरे पनि सबैको ज्वरो मापन भने गरिएको थिएन । लाइनमा रहेका सबै यात्रुको ज्वरो मापन नगर्नुको कारणबारे सोध्दा हेल्थ डेस्कका स्वास्थ्यकर्मी चौधरीले चर्को घाम र गर्मीमा पैदल आउने सबैको जाँच गरे तापक्रम उच्च देखिने भएकाले मापन नगरिएको बताए । स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार हेल्थ डेस्कलाई पुनः क्रियाशील गराइएपश्चात् हालसम्म नाकामा ५१ जना शंकास्पद यात्रुको आरडीटी परीक्षण गर्दा एक जनाको पोजिटिभ आएको र ती यात्रुको पीसीआर परीक्षणबाट पनि संक्रमण रहेको पुष्टि भएपछि आइसोलेसनमा राखिएको छ ।

सुनौली नाकामा रहेका हेल्थ डेस्कमा शंकास्पद यात्रुको पीसीआर परीक्षण नगरी एन्टिजेन वेस्ट आरडीटी परीक्षण मात्र हुने गरेको र नाकाबाट आउने सम्पूर्ण यात्रुको ज्वरो मापन गर्न सबैलाई रोकेर लाइन नलगाईकन सम्भव नहुने स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख राजेन्द्रकुमार गिरीले बताए ।

कपिलवस्तुको नेपाल–भारत सीमा नाका मर्यादापुरबाट अहिले स्वास्थ्य परीक्षण नै नगरी आवतजावत भइरहेको छ । कागजमा नाका नखुले पनि व्यावहारिक रूपमा नाकाबाट आवतजावत भइरहेको स्थानीयले बताए । मुख्य नाकाबाट आउजाउ गर्न नदिएपछि ४० मिटर पश्चिमको नाकाबाट निर्बाध आवागमन भइरहेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बसेर सुरक्षा चेकजाँच गरेर आउन जान दिएका हुन् । सामान्य सुरक्षा सतर्कता पनि नअपनाइएको यशोधरा गाउँपालिकाका शम्भु मालीले बताए । यस नाकाबाट अहिले दैनिक ५ सयभन्दा बढी आउजाउ गरिरहेका छन् । स्वास्थ्य चेकजाँचका लागि हेल्थ डेस्क राखिएको छैन । ‘गाउँपालिकालाई हेल्थ डेस्क राख्न आग्रह गरेका थियौं,’ सशस्त्रको डंगरी बीओपीका निरीक्षक शंकरसिंह शिखले भने, ‘तर अहिलेसम्म सुनुवाइ भएको छैन ।’ त्यस्तै अर्को नाका कृष्णनगरमा भने हेल्थ डेक्स राखेर स्वास्थ्य परीक्षण गरेर आवतजावत गर्न दिइएको छ । चैत १३ मा हेल्थ डेस्क स्थापना गरेर चेकजाँच थालिएको हो । कृष्णनगरको लिंक गेटमा हेल्थ डेस्क राखिएको छ । १ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

नेपालगन्जको जमुनाहा नाका भएर घर फर्किनेलाई ज्वरो नाप्ने अनि शंका लागेकालाई मात्र कोरोना जाँच गरिने गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । ‘सामान्य चेकजाँच गर्दा शंका लागेकालाई नाकामा स्वाब लिएको १५ मिनेटमा कोरोना टेस्ट गर्छौं,’ उनले भने, ‘६ हजारलाई चेक गर्दा अहिलेसम्म ६ जना पोजिटिभ केस फेला पारेका छौं ।’ संक्रमण पुष्टि भएकाहरू भारतको महाराष्ट्रबाट घर फर्किएका बाँके, दैलेख र रोल्पाका छन् ।

चैत लागेसँगै जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको कोरोना फोकल पर्सन तेज वलीले बताए । ‘कोरोना महामारी चलिरहेकाले हामीले जिल्लामा कोरोना टेस्ट रोकेका थिएनौं,’ उनले भने, ‘केही समययता कोरोना टेस्ट गराउने संख्यामा चाहिँ कमी आएको हो ।’ चैत ११ मा नाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट जाँच गराए मात्रै नेपाल पस्न पाउने व्यवस्था गरिएको छ । १५ मिनेटमा रिपोर्ट निकाल्ने प्रविधिसहितको हेल्थ डेस्क यहाँ सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : चैत्र २९, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?