१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जिल्ला अस्पतालमा छैनन् विशेषज्ञ

प्रदेश सरकारले कम्तीमा एक विशेषज्ञ चिकित्सक पठाउने नीति अघि सारे पनि कार्यान्वयन भएन
काशीराम डाँगी

रोल्पा — जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ चिकित्सक नहुँदा जिल्लावासी स्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।

जिल्ला अस्पतालमा छैनन् विशेषज्ञ

लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडीजीपी) चालु आर्थिक वर्षभित्रै पठाउने नीति अघि सारेको थियो । अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीका अनुसार हालसम्म चिकित्सक आएका छैनन् । ‘विशेषज्ञ चिकित्सक नहुँदा जिल्लावासी विशेष सेवा पाउनबाट वञ्चित छन्,’ उनले भने ।

उक्त स्तरको सेवा पाउन बिरामी छिमेकी जिल्लासम्म पुग्ने गरेका छन्, जसका लागि महँगो भाडा र धेरै समय खर्चनुपर्छ । जिल्लावासीको दबाब र नागरिक समुदायको आग्रहपछि अस्पतालमा केही नयाँ सेवा थप गरिएको छ । पछिल्लो पटक अस्पतालमा फिजियोथेरापी र आँखा जाँच सेवा सुरु गरिएको छ । त्यसअघि दाँत र जटिल प्रसूति सेवा सञ्चालित गरिएको थियो । तर, छाला तथा नाक, कान र घाँटी जाँच सेवा अझैसम्म सञ्चालन गरिएको छैन ।

स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा कम्तीमा एक जना जनरल स्पेसिलिस्ट (एमडीजीपी) चिकित्सक ल्याउन सके जिल्लावासीले स्तरीय एवं घरछेउमै स्वास्थ्य सेवा पाउन सक्थे । ‘जिल्लाको स्वास्थ्य सेवाको अवस्था सुधार गर्ने मुख्य जिम्मेवारी प्रदेश सरकार र यहाँको स्वास्थ्य विभागको हो,’ अस्पतालका सूचना अधिकारी डाँगीले भने, ‘तर, खोइ किन बेवास्ता गरिएको हो, थाहा छैन ।’ अस्पतालको स्तर वृद्धि गरेर सरकारले १५ लाई ५० बेडको अस्पताल बनाइसकेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाशबहादुर बुढाका अनुसार अब अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी बढेर ६० जनाको बनाइएको छ । तर, थुप्रै दरबन्दी परिपूर्ति गर्न बाँकी छ । हाल अस्पतालमा ८ जना चिकित्सक (एमबीबीएस) छन् ।

एघारौं तहकालाई अस्पताल प्रमुख नियुक्त गर्ने प्रावधान भए पनि सरकारले अहिलेसम्म पठाएको छैन । लामो समयदेखि निमित्तबाट अस्पताल सञ्चालन भइरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले प्रदेश सरकारको ४६ लाख रुपैयाँमा नयाँ ओपीडी भवन निर्माण गरिएको बताए । प्रदेश सरकारले अस्पतालको स्तर वृद्धिका लागि २ करोड बजेट पठाएको थियो । अस्पतालको नयाँ भवन भने विगत दुई वर्षदेखि निर्माणाधीन छ । करिब ४ करोड रुपैयाँमा आधुनिक भवन निर्माण गर्न लागिएको हो ।

प्रकाशित : चैत्र २२, २०७७ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?