३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जंगलमा नियन्त्रित आगलागी

माधव अर्याल

पाल्पा — बस्ती नजिकका जंगलमा नियन्त्रित आगलागी गरिएको छ । वन डढेलोबाट हुने मानवीय र भौतिक क्षति कमी गर्न डिभिजन वन कार्यालयले आइतबार यो नयाँ अभ्यास सुरु गरेको हो ।

जंगलमा नियन्त्रित आगलागी

मानव बस्तीनजिकका सामुदायिक वनसँगको सहकार्यमा नियन्त्रित आगलागी गरेर मानवीय र भौतिक क्षति कम गर्ने योजना अघि सारेको डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए ।

तानसेन नगरपालिका क्षेत्रको मानव बस्ती र अन्य भौतिक संरचनाका नजिक सेना, प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र स्थानीय उपभोक्ता मिलेर अग्निरेखा बनाए । त्यही रेखाबाट आगलागी सुरु गरेपछि कतिपयले डढेलो लगाएको भन्दै आलोचना पनि गरेका छन् । तर, मानवीय र भौतिक क्षति कम गर्न सल्ला प्रजाति भएका स्थानमा यो माध्यम नमुनाका रुपमा सुरु गरेको उनले बताए ।

यस वर्ष काम गरेको अनुभवले आगामी वर्ष चुरे क्षेत्रमा पनि यही विधि अपनाउन सकिने डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका रेन्जर पोखरेलले यसरी आगो लगाएपछि स्थानीय उपभोक्तामा चेतना हुने र आगामी दिनमा खतरा पनि नहुने बताए ।

स्थानीय भैरव पुन मगरका अनुसार यसरी नियन्त्रित डढेलो लगाएपछि सबैको निगरानी हुन्छ र जनधनको क्षति हुन पाउँदैन । हरेक वर्ष हुने आगलागीका घटनाले मानवीय र भौतिक क्षति हुने गरेको छ ।

प्रकाशित : चैत्र १६, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?