कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

घिउमा  ठगी

माधव अर्याल

पाल्पा — तानसेन बजारभित्र सञ्चालित ठूला डेरी उद्योगले एक किलो घिउ किन्दा उपभोक्ताबाट कम्तीमा १ सय रुपैयाँ ठगी गर्ने गरेको पाइएको छ । उनीहरूले उपभोक्तालाई तौलमा कमी गर्ने गरेका छन् । साथै घिउको डब्बासहित नै तौल गरेर ठगी गर्दै आएको भेटिएको छ ।

‘हामीले घिउ किन्दा अहिलेसम्म यस्ता कुरामा ख्याल नै गरेका थिएनौं,’ उपभोक्ता सुनिता खनालले भनिन्, ‘हामी एक किलो घिउ किन्दा नै कम्तीमा सय रुपैयाँ ठगिएका रहेछौं ।’ वर्षमा कम्तीमा आठ किलो घिउ किन्ने गरेको उनले बताइन् । उपभोक्ताले दुग्धपदार्थ किन्दा ठगिएको गुनासो स्थानीय प्रशासनमा गर्दै आएका थिए ।

गुनासाका आधारमा तानसेन नगरपालिकाले सरोकारवालाको सहभागितामा दूध डेरी र मिठाई पसल अनुगमन गर्दा उपभोक्ताको गुनासो पुष्टि भएको हो । ‘उपभोक्ताको गुनासाका आधारमा बजारमा अनुगमन गरेका थियौं,’ तानसेन नगरपालिकाका आन्तरिक लेखा परीक्षक कोशलराज घिमिरेले भने, ‘उपभोक्ताले गरेका गुनासा जस्तै ठगी गरेको भेटिएको छ ।’

घिउमा मात्र होइन, तानसेन बजारभित्र सञ्चालित डेरी उद्योगले उपभोक्तालाई दुग्धजन्य हरेक वस्तुमा ठगी गर्दै आएका छन् । उनीहरूले मापदण्डविपरीतका सामग्री बिक्री गर्दै आएको अनुगमनका क्रममा भेटिएको छ । अनुगमनमा सहभागी घिमिरेका अनुसार डेरी उद्योगले उपभोक्तालाई दूधको मूल्यमा समेत ठगी गर्दै आएका छन् ।

पछिल्ला केही दिनयता भैंसीको दूधमा मनोमानी ढंगले मूल्य बढाएका छन् । ‘मूल्य बढाएको विषयमा पनि छलफल भएको छ,’ तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा अनुगमनमा सहभागी रेशमलाल न्यौपानेले भने, ‘किसानलाई मूल्य थपेर दिएको भन्ने जवाफ डेरी उद्योगबाट आएको छ ।’

अनुगमनकारी निकायले डेरी सञ्चालकलाई कारबाही गर्न सक्दैन । हरेक पटक अनुगमन गर्दा गल्ती भेटिए पनि पहिलो पटक सम्झाइबुझाइ छाडेको भन्ने गर्छ । समयमा अनुगमन हुँदैन । भए पनि सही ढंगले अनुगमन नगर्दा आफूहरू ठगिँदै आएको उपभोक्ता रमेश अधिकारीले बताए । उनका अनुसार पछिल्लो समयमा तानसेनका प्रायः डेरी उद्योगमा मापदण्डविपरीतको दुग्धपदार्थको बिक्री हुँदै आएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?