कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पाल्पाका सबै स्थानीय तहमा क्‍वारेन्टिन र आइसोलेसन तयारी राख्‍न निर्देशन 

विदेशबाट आउने अनिवार्य क्‍वारेन्टिनमा
माधव अर्याल

पाल्पा — जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सबै स्थानीय तहमा क्‍वारेन्टिन र आइसोलेसन तयारी राख्न निर्देशन दिएको छ ।

कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिलो संचालनमा आएको क्‍वारेन्टिन, आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए । ‘छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत बढ्दै गएको सन्दर्भमा खुला सिमानाका कारण भारतबाट मानिसहरुको आवतजावत भएको छ,’ प्रजिअ पाण्डेयले भने, ‘त्यसैले यो जिल्लामा पनि भारतबाट फर्कनेको संख्या बढ्न सक्छ । त्यसैले सचेत गराएका छौं ।'

प्रजिअ पाण्डेयका अनुसार भारतसहित तेस्रो मुलुकबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ । संकट व्यवस्थापन समितिका साथै सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि निर्णय लिएको उनले बताए । भारत तथा तेस्रो मुलुकबाट आएका जोसुकै स्थानीय सरकारले निर्माण गरेको आइसोलेसन र क्‍वारेन्टिनमा बस्नु पर्ने उनले बताए । भारतलगायत तेस्रो मुलुकबाट फर्किएकालाई १४ दिन होम क्वोरेन्टिन अनिवार्य गरिएको छ । उनीहरूको निगरानी गर्न प्रशासनले सबै स्थानीय तहलाई निर्देशन गरिसकिएको उनले बताए ।

भारतलगायत मुलुकबाट आउने मासिनहरुको वडा तथा समुदायस्तरबाट निगरानी र अभिलेखसमेत स्थानीय तहले राख्नेछन् । स्थानीय सरकारसँग समन्वय गरेर उनीहरूको कोरोना परीक्षणको व्यवस्था मिलाइने छ । संकट व्यवस्थापन समिटिको बैठकले होली (फागु) पूर्णिमालगायत मेला, जात्रा, महोत्सव, वार्षिकोत्सव, भेला, जुलुस तथा र्‍यालीजस्ता भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । भीडभाडबाट कोभिड–१९ संक्रमण फैलिने हुँदा यस्ता गतिविधि नगर्न प्रशासनले निर्देशन दिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थालाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।

प्रहरीले माइकिङमार्फत सन्देश प्रवाह गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ । मास्क नलगाई हिँड्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने छ । साबुन पानीले नियमित हात धुनुपर्ने, स्यानीटाइजरको प्रयोग गर्नसमेत आग्रह गरेको छ । राति नौ बजेदेखि कुनै पनि होटल, रेस्टुरेन्ट, तथा मदिरा बिक्री वितरण गर्न पाइने छैन । पाल्पामा मौज्दात रहेका कोरोनाविरुद्धको खोप जिल्ला प्रवेश नाकामा रहेका बस्तीमा छुट भएका लक्षित समूहका व्यक्ति, शिक्षक, सवारी चालक र सहचालकलाई लगाइनेछ । निर्णयको पूर्णरुपमा पालना गरेर आफू बाँच्न र अरुलाई पनि बचाउन आम नागरिकसँग अपील गरेको छ ।


प्रकाशित : चैत्र १४, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?