कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध विमानस्थलमा बल्ल उपकरण जडान गरिँदै

माधव ढुंगाना

भैरहवा — निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा रोकिएका उपकरण जडानको काम बल्ल चलिरहेको छ । कोभिड–१९ संक्रमण सुरु भएपछि विदेशी विशेषज्ञसहितका प्राविधिक आउन नसक्दा उपकरण जडान एक वर्षभन्दा लामो समयदेखि रोकिएको थियो ।

गौतम बुद्ध विमानस्थलमा बल्ल उपकरण जडान गरिँदै

आयोजनाको भौतिक संरचना निर्माणअन्तर्गत आईसीबी वान र मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत आईसीबी टूतर्फका उपकरण जडानले तीव्रता पाएको छ । आयोजनास्थलमा अमेरिकी, अस्ट्रिया र चिनियाँ विशेषज्ञ प्राविधिक उपकरण जडानमा जुटेका छन् । आयोजनास्थलमा तीन सातायता विदेशी प्राविधिक टोली आउन थालेपछि उपकरण जडानले तीव्रता पाएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘आयोजनाका महत्त्वपूर्ण उपकरण जडानको काम अहिले अघि बढेको छ,’ उनले भने, ‘विदेशी प्राविधिक उपकरण जडानका लागि आयोजनास्थलमा आउने र आफ्नो काम सकेपछि फर्किने क्रम चलिरहेको छ ।’

सबै जना विशेषज्ञ प्राविधिक एकै पटक समूहमा नआएर आवश्यकताअनुरूप आउने र आफ्नो काम सकिएपछि फर्किने गरेका छन् । कोभिडका कारण यसअघि तेस्रो मुलुकका प्राविधिक आयोजनास्थलमा आउन नसक्दा स्थानीय र भारतीय प्राविधिकको परिचालन गरिनाले उपकरण जडानको काम छिटो र सहज भएको छ । आईसीबी वानतर्फ तीन हजार मिटर लम्बाइको धावनमार्गमा रनवे लाइट र ट्याक्सी वेको लाइट जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ । टर्मिनल भवनमा एसी जडान र अन्य फिनिसिङको काम अघि बढेको छ । कन्भेयर बेल्ट, ब्यागेज ह्यान्डलिङ सिस्टम, लिफ्ट र एसी जडानका कार्य जारी छन् । चार वटा लिफ्टमध्ये तेस्रो लिफ्ट जडानको काम जारी छ ।

विदेशी प्राविधिक आफ्नो देशमा कोभिडको भ्याक्सिन लगाएपछि आयोजनास्थलमा कामका लागि आउन थालेका हुन् । चिनियाँ प्राविधिक टोली भ्याक्सिन लगाएपछि १० जना आएको र अन्य प्राविधिक आउने क्रममा रहेको आयोजनाले जनाएको छ । सबैभन्दा धेरै उपकरण जडानको कार्य आयोजनाको आईसीबी टूतर्फ सम्बन्धित छ । आयोजनाको भौतिक संरचना निर्माणअन्तर्गत आईसीबी वानका लागि चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनको ६ अर्ब २२ करोड रुपैयाँको ठेक्का हो । मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माण कार्य आयोजनाको आईसीबी टूको थाइल्यान्डको एरो थाई कम्पनीको करिब ५० करोड रुपैयाँको ठेक्का हो ।

आईसीबी टूतर्फ पनि उपकरण जडानको कार्य धमाधम भइरहेको छ । चैतभित्रै उपकरण जडान सकिने आयोजनाको आईसीबी टूअन्तर्गतका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनर्देशक प्रवीण न्यौपानेले जानकारी दिए । ‘उपकरण जडानको काम करिब अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘चैतभित्रै जडानको काम सकिनेछ ।’

हाल अस्ट्रिया र अमेरिकी विशेषज्ञ प्राविधिकसहितको टोलीबाट जहाजको दिशा पत्ता लगाउने एवं सञ्चारसँग सम्बन्धित उपकरण जडानको काम जारी रहेको र मौसमसम्बन्धी उपकरण जडानका लागि अमेरिकी प्राविधिकको टोली केही दिनमा आइपुग्ने उनले बताए । सञ्चार उपकरण जडानका लागि अमेरिकाबाट आइपुग्ने टोली आईसीबी टूतर्फको अन्तिम टोली हुनेछ । विशेषज्ञ टोलीसँग नेपाली प्राविधिक टोली पनि संलग्न छ ।

प्रकाशित : चैत्र १२, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?