सम्झौता कार्यान्वयन नभए संघर्षमा जाने टाइगर्सको चेतावनी

माधव ढुंगाना

भैरहवा — तराई/मधेस जनता पार्टी (टाइगर्स) ले तीन वर्षअघिको सम्झौता कार्यान्वयन गर्न सरकारी पक्षले चासो नदेखाएको भन्दै संघर्षको चेतावनी दिएको छ ।

सम्झौता कार्यान्वयन नभए संघर्षमा जाने टाइगर्सको चेतावनी

बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य मेजर पाण्डेले यही चैत महिनाभित्र सम्झौता कार्यान्वयन नभएमा संघर्षमा जाने तयारी गरिएको बताएका हुन् । ‘संघर्ष भने शान्तिपूर्ण हुने छ’ उनले भने, ‘त्यतिबेलाको शान्ति सम्झौतामध्ये कुनै पनि बुँदाको पालना सरकारी पक्षबाट भएको छैन ।’

११ बुँदे सम्झौताअनुरुप पक्राउ गरिएका पार्टीका सबै कार्यकर्ता रिहाइ गरिनु पर्नेमा सरकारले कार्यान्वयन नगरेको उनले बताए । उनका अनुसार, कुल २२ जना कार्यकर्ता पक्राउ परेकामा अझै पनि ९ जना कार्यकर्ता जेलमा रहेको र बाँकी आफै कैद भुक्तान भइ रिहा भएका हुन् ।

२०७५ मंसिर महिनामा सरकारको तर्फबाट तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे र पार्टीको तर्फबाट रोशन साहको संयोजकत्वमा वार्ता टोली गठन भइ भैरहवामा ११ बुँदे शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतापछि पनि आफ्ना नेता, कार्यकर्ता शान्तिपूर्वक घरमा बस्ने वातावरण नभएकोबारे पटक-पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ । मृत्यु भएका कार्यकर्तालाई सहिद घोषणाको माग पनि कार्यान्वयन नभएको उनले जनाए ।

प्रकाशित : चैत्र ५, २०७७ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?