हत्या अभियोगमा ३ पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार

हत्या अभियोगमा ३ पक्राउ

काशीराम डाँगी

रोल्पा — धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको अभियोगमा रोल्पामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

परिवर्तन गाउँपालिका–६ इरिबाङको चाबाङस्थित घरनजिकै खोलामा मंगलबार राति वीरेन्द्रप्रकाश गिरीको हत्या गरिएको अभियोगमा बुधबार छिमेकी गाउँ तालाबाङबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खोला हुँदै घर फर्किरहेका ३१ वर्षका गिरीमाथि खुकुरी प्रहार गरी घटनास्थलमै हत्या गरिएको थियो । घटनापछि परिचालित प्रहरीले घटनामा संलग्न भएको भनी माडी गाउँपालिका–३ का २२ वर्षका कमल घर्ती, ४३ वर्षका भीमबहादुर घर्ती र १४ वर्षका एक बालकलाई सिस्नेखोलाबाट पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीसमक्ष उनीहरुले हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । तीन जनालाई पक्राउ गर्न घर्तीगाउँस्थित प्रहरी निरीक्षक सुधीरकुमार खड्का र इरिबाङ प्रहरी चौकीका नायब निरीक्षक धनबहादुर केसीको नेतृत्वमा प्रहरी परिचालित थियो ।

प्रहरी नियन्त्रणमा लिइएकाहरुबारे थप अनुसन्धान गर्ने र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । प्रहरीले उनीहरुबीचको सम्बन्ध र घटनाको कारणबारे अनुसन्धान गर्ने जनाएको छ । मृतक गिरीको शव पोस्टमार्टम गर्नका लागि बुधबारै लिबाङस्थित रोल्पा अस्पतालमा ल्याइएको छ ।

प्रकाशित : चैत्र ४, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्छ : थापा

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सवल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताएका छन् ।  

फाइल फोटो

राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई बुधबार सम्बोधन गर्दै उनले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा गर्दै अहिले देशमा सनातन हिन्दू संस्कार र राजसंस्थाको अभिमत बुझेर सबैको सहकार्यबाट नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक नेतृत्वले सत्ताको प्रतिस्पर्धालाई जनताको गाँस, बाँस र कपास, शान्ति सुरक्षाको व्यवस्थापन तथा प्रजातन्त्रको सुदृढीकरणका लागि त्याग गर्न आवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य क्रमशः मधु अधिकारी, राजाराम बर्तौला र गणेश थापाले राष्ट्रिय महाधिवेशनका सन्दर्भमा सङ्गठनलाई दरिलो तुल्याउनुपर्ने तथा नेता–कार्यकर्ताले गुटबन्दीबाट अलग भई पार्टीको नीति सिद्धान्त र जनताप्रति सेवाभाव, मन, वचन तथा कर्मले लाग्नुपर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : चैत्र ४, २०७७ १९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×