बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा मंगलबार बाघको आक्रमण परी एक महिलाको ज्यान गएको छ ।

दिउँसो ३ बजेतिर निगुरो टिप्न गएका ४ महिलामध्ये ठाकुरबाबा नगरपालिका—७ मोहनापुरकी ६२ वर्षीया डल्ली राउतको बाघको आक्रमणमा परी मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जनाए ।

अन्य ३ जना महिला सकुशल रहेका छन् । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले चोरी बाटो हुँदै उनीहरु निकुञ्जको सीमा क्षेत्रभन्दा करिब ५ किलोमिटर भित्र पसेको बताए । सुरक्षा व्यवस्था कडा हुँदाहुँदै उनीहरु निकुञ्जभित्र चोरी बाटो हुँदै निगुरो टिप्न गएका थिए । निकुञ्ज घटनास्थल नजिक राउतको शव फेला परेको श्रेष्ठले जनाए ।

गत साउनयता बर्दियामा बाघको आक्रमणबाट ९ जनाको ज्यान गइसकेको छ । पछिल्लो समय बाघको आक्रमण निरन्तर भइरहेको हुँदा निकुञ्ज प्रशासनले सचेतना गराइरहेको छ ।

प्रकाशित : चैत्र ३, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमा जिप दुर्घटना, ४ को मृत्यु, ७ जना घाइते

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । 

सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा कमलामाई-७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

दुर्घटनामा परि ३८ वर्षीय चालक भोज विक्रम थापा गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी मनोजकुमार लामाले बताए । अन्य घाइतेहरुमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीय शान्तिमाया थिङ, २२ वर्षीय कविता श्रेष्ठ, ५० वर्षीय सुनमाया थिङ, ३० वर्षीय सुकुमाया पुलामी र उनका छोरा दुई वर्षीय रेमन पुलामी र २८ वर्षीय विनिता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको जिप सडकबाट ६० फिट तल खसेको थियो । कच्ची, घुमाउरो सडक र ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

'मोड फराकिलो नबनाए जुनसुकै बेला दुर्घटना हुन सक्छ '

शान्तिमायाँ थिङ, २०, घाइते

म सिन्धुली बहुमखी क्याम्पसमा अध्ययनरत छु । बिहानको पढाइ भएकाले आज घर जान हिँडेकी थिएँ । कोठामा खानेकुरा सकिएको थियो । घरबाट खाने चामल लिएर आउनु पर्‍यो भनेर जाँदै थिएँ । सदरमुकामबाट दिउँसोको ३ बजेतिर बाँसकटेरीका लागि हाम्रो जिप छुटेको थियो । पछाडि हामी ५ जना थियौं, जिप आफ्नै रफ्तारमा थियो । सिमेन्ट लोड भएकाले हामी सबैजना उभिएका थियौं, सिमेन्टको धुलो र कच्ची सडकको धुलोले कुहिरीमण्डल जस्तै हुन्थ्यो ।

घाइते शान्तिमाया थिङ सिन्धुली अस्पतालमा । तस्बिर:राजकुमार कार्की/कान्तिपुर

बाँसकटेरी पुग्न त्यस्तै चार/पाँच किलोमिटर बाँकी थियो । सदरमुकामबाट बाँसकटेरी त्यस्तै २० किलोमीटर होला । कच्ची सडकमा मोड धेरै छ । कमारे डाँडाको मोडमा भने सँधै गाडी ब्याक नगरी मोड पुग्दैन । पहिरो समेत भएकाले डरलाग्दो ठाउँ छ । सधाझैं मोडमा जिप ब्याक गरेका थिए तर रोकिएन । मोड नपुगेर पछाडि सरेको जिप अगाडि बढेन । पहराबाट झरि हाल्यो । म कतिखेर उछिट्टिएछु, थाहै भएन् । एकैचोटी अस्पतालको बेडमा पो रहेछु । मेरो खुट्टा चलेको छैन् । जिउ दु:खेको छ । अगाडि बस्ने धेरैको ज्यान गयो भन्छन । पछाडि उभिएर बसेकाले दोस्रो जुनी पाएको छु । मोड फराकिलो नबनाए जुनसुकै बेला दुर्घटना हुन सक्छ ।

प्रकाशित : चैत्र ३, २०७७ १८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×