कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शान्ति धामलाई मुठीदान अभियान

लुम्बिनी — लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने उद्देश्यले निर्माण थालिएको स्याङचुअरी (पावन धाम) का लागि मुठीदान अभियान सुरु भएको छ । तीन वर्षभित्र बनाइने शान्ति धाममा विश्वका सबै देशका नागरिकबाट मुठीदान सुरु भएको हो ।

नेपालमा जन्मे–हुर्केर अमेरिका बस्दै आएका तिब्बती मूलका बौद्ध गुरु श्याल्पा तेन्जिङ रिन्पोछेको अगुवाइमा बन्न लागेको धामका लागि कम्तीमा ५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

‘सामान्य हिसाबले हेर्दा यो पैसा धेरै हो, तर पृथ्वीभरकै मानिसले चाहे एक रुपैयाँ पनि होइन एउटाका लागि,’ उनले भने, ‘म धेरैसँग थोरै दान लिएर यो काम गर्न अघि बढेको छु ।’ हरेक वर्ष स्विट्जरल्यान्डले डाभोसमा विश्व अर्थतन्त्रबारे सम्मेलन गरेजस्तै नेपालले विश्व शान्तिबारे लुम्बिनीमा हरेक वर्ष सबै देशका प्रमुखलाई बोलाएर सम्मेलन गर्न मिल्ने गरी शान्ति धाम बनाउन लागिएको रिन्पोछेले बताए ।

अभियानको प्रशंसा गर्दै शनिबार पूर्वराजदूत दीपकुमार उपाध्याय, नेकपा एमालेका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराई, पूर्वमन्त्री वकिल मुसलमान, पूर्वमन्त्री दीपक बोहरा, लुम्बिनी प्रदेश सांसद फकरुद्दिन खान, पर्यटन उद्यमी सुनिल शाक्य र लुम्बिनी बौद्ध विश्वविद्यालयका भाइस चान्सलर हृदयरत्न वज्राचार्यलगायतले एक–एक रुपैयाँ दान गरे ।

लुम्बिनीकै आकर्षण थप्ने गरी बनाउन लागिएको शान्ति धाममा नेपालीबाट एक रुपैयाँ र विदेशीबाट एक डलर मुठीदानका रूपमा लिने अभियान गत दीपावलीबाट सुरु भएको थियो । अभियानअन्तर्गत निर्माणस्थलमा पुग्दै एक रुपैयाँ दान गर्नेहरू अहिले बढिरहेका छन् । गत मंसिरमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) का महासचिव एसला रुवान विराकोनले एक रुपैयाँ दान गरेर अभियानको शुभारम्भ गरेका थिए । उक्त दान नेपालमा इसेवाले र नेपालबाहिर पे पालले कुनै शुल्क नलिइकनै शान्ति धामको कोषमा जम्मा गरिदिने रिन्पोछेले बताए । उनका अनुसार लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैतिरबाटै व्यापक सहभागिता र योगदान होस् भन्ने उद्देश्यले अभियान चलाइएको हो ।

धाममा दुई हजार बढी क्षमताको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन् । त्यस्तै विहार र गुम्बा रहने अत्याधुनिक केन्द्र हुन्छ । जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारको धाम हुनेछ । महायानी सम्प्रदायलाई छुट्याइएको पश्चिम क्षेत्रको १४ हजार ४ सय वर्गमिटरभित्र पर्ने दक्षिण कोरियाली विहार नजिक धामको जगमा २ सय १९ पिलरहरू हालिसकिएको छ ।

प्रकाशित : चैत्र २, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?