१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लुम्बिनीको ब्रान्डिङ गरिँदै

सरल रुपमा बुझ्न र सचित्र स्मरण हुने गरी ब्रान्डिङ तयार
मनोज पौडेल

लुम्बिनी — कला, संस्कृति र विविधताको उत्कृष्ट संयोजन गरेर बुद्ध जन्मस्थल लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालिएको छ । लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन नेपाल पर्यटन बोर्ड अग्रसर भएर यो काम थालेको हो । 

लुम्बिनीको ब्रान्डिङ गरिँदै

काठमाडौंको आर्ट एन्ड डिजाइन कम्पनी कर्प्स एन्ड कलर्सले बुद्धस्थल लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम पुगेर अध्ययन अनुसन्धान गरी त्यहाँको अवस्था, सुन्दरता, पुरातात्त्विक एवं ऐतिहासिक वैभवलाई सिर्जनामार्फत उतारेर ब्रान्डिङ गरेको भैरहवामा सोमबार आयोजित विशेष कार्यक्रममा जानकारी गराइयो । विज्ञले स्केच कोरेर त्यसलाई डिजिटलाइज गरी ब्रान्डिङ गरेका हुन् ।

सरल रूपमा बुझ्न र बुद्ध जन्मस्थल लुम्बिनीको सचित्र स्मरण हुने गरी ब्रान्डिङ तयार गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । ‘ब्रान्डिङ देख्नासाथ शान्तिको सन्देश जानेछ,’ उनले भने, ‘बौद्ध धर्मावलम्बी र शान्तिकामी यहाँ आउन थप लालायित हुनेछन् ।’ भारत, थाइल्यान्ड, माल्दिभ्सलगायत धेरै देशले महत्त्वपूर्ण स्थलको ब्रान्डिङको काम गरी पर्यटन प्रवर्द्धन गरेका छन् । विश्व शान्तिको मुहान लुम्बिनीलाई ब्रान्डिङबाट चिन्न सकून् भनेर काम थालिएको उनले बताए ।

लुम्बिनीको प्राकृतिक सुन्दरता, नदी, चराको कलरव, जलक्रीडा र ॐ माने पद्मे हुँको गुन्जायमान वातावरणलाई ‘ब्रान्डिङ’ मा समावेश गरिएको छ । जापानी वास्तुकलाविद् केन्जो टाँगे अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन गरिएको छ । राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई पनि ब्रान्डिङमा संयोजन गरिएको छ । यहाँको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चरालाई पनि संयोजन गरिएको छ । प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’ मा स्थान दिइएको छ ।

ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरको कलर, सेतो, पर्पल, मरुल, पहेंलो, हरियो र नीलो रङ बढी प्रयोग गरिएको छ । ब्रान्डिङपछि यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला र अडियो/भिजुअललगायतमा एउटै खाले सन्देश जाने विश्वास गरिएको छ । त्यस्तै कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ । कस्तो रङको लिपि र लोगो प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवर्द्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ ।

यसले सबैलाई लुम्बिनीको महत्त्व र आस्था सजिलै बुझ्न सहयोग पुग्ने लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले बताए । ‘छलफल गरेर सुझाव लियौं,’ कर्प्स एन्ड कलर्सका सीईओ रञ्जन श्रेष्ठले भने, ‘गहन सुझाव आएका छन् । अब ब्रान्डिङलाई अन्तिम रूप दिएर पर्यटन बोर्डमा बुझाउँछौं ।’ लुम्बिनीको सबै पक्षलाई समेटेर पहिलो पटक ब्रान्डिङ गरिएको हो । ब्रान्डिङमा प्रयोग गरिएका ऐतिहासिक सिर्जना, लोगो, प्राकृतिक वातावरण देख्दै तीर्थयात्री एवं उपासकलाई शान्तिको अनूभूति र ऊर्जा प्राप्त हुने भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरको भनाइ छ । थाइल्यान्डले एमाइजिङ थाइल्यान्ड, भारतले अतुल्य भारत, मलेसियाले मलेसिया इज ट्रुर्ली एसिया र नेपालले नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाए जस्तै लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रङ, नाम, लोगोमा ब्रान्डिङ गरिएको लुम्बिनी प्रदेश आन्तरिक पर्यटन पुनरोत्थान समिति संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए । लुम्बिनीमा बर्सेनि १६ लाखभन्दा बढी स्वदेशी, डेढ लाखभन्दा बढी विदेशी र दुई लाख भारतीय तीर्थयात्री एवं पर्यटक आउँछन् ।

प्रकाशित : फाल्गुन २७, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?