कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वमन्त्री गिरीलाई पितृशोक

दुर्गालाल केसी

दाङ — कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिँचाई मन्त्री दीपक गिरीलाई पितृशोक परेको छ । गिरीका पिता ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो निधन भएको छ ।

पूर्वमन्त्री गिरीलाई पितृशोक

तुलसीपुरस्थित घरमा बस्दै आएका गिरी दिउँसो एकाएक बिरामी भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । अस्पताल पुर्‍याएको केहीबेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । स्वर्गीय गिरीकी ८० वर्षीया धर्मपत्नी छायाँका साथै छोराहरु दीपक, ज्वाला, ज्योति र छोरी रचना छन् ।

स्वर्गीय गिरी कांग्रेसका पुराना नेता हुन् । उनका बुवा बलभद्र गिरी २०११ सालमै कांग्रेसको तत्कालीन सल्लाहकार परिषद् सदस्य थिए । बुवाको बाटो पछ्याउँदै राजनीतिमा सक्रिय गिरी तत्कालीन समयमा राप्ती अञ्चल पञ्चायत निरीक्षण अधिकारी, अञ्चल निर्देशन अधिकारी, तत्कालीन पञ्चायतमा युवा संगठनको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय पञ्चायत सदस्यसमेत भएका थिए । उनी जिल्लामा कांग्रेसको अभिभावकीय भूमिकामा थिए । सशस्त्र द्वन्द्वको समयमा उनी हेकुलीस्थित गाउँबाट विस्थापित भएका थिए ।

प्रकाशित : फाल्गुन २२, २०७७ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?