महिला तथा किशोरीलाई आत्मरक्षा तालिम

रूपा गहतराज

नेपालगन्ज — महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम शुक्रबारबाट नेपालगन्जमा सुरु भएको छ ।

बढ्दो महिला तथा बालिका हिंसालाई मध्यनजर गर्दै १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको छेकोमा नेपालगन्ज उपमहानगरपालिकाका महिलाका लागि तीन दिने तालिम सुरु गरिएको हो । तालिममा ३ सय ९६ जना किशोरी तथा महिला सहभागी छन् ।

तालिमको उद्घाटन सत्रमा बोल्दै वरिष्ठ प्रहरी उपरीक्षक किरण राणाले शारीरिक र मांसिक रुपमा सक्रिय हुनुले महिलालाई आत्मरक्षामा सहयोग पुग्ने बताइन् । उनले किशोरी तथा महिलालाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न अनुरोध गरिन् । ‘महिला यस सृष्टिका अमूल्य शक्ति हुन्’, वरिष्ठ प्रहरी उपरीक्षक राणाले भनिन्, ‘जुन शक्ति र क्षमता महिलालाई सृष्टिले दिएको छ, त्यो अरु कसैलाई पनि दिएको छैन, यसर्थ आफ्नो मनोबल जहिले पनि उच्च राख्नुपर्छ ।’

उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्जकी उपमयेर उमा थापा मगरले महिला तथा किशोरीलाई आत्मरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने बताइन् । ‘यो समाजले पनि महिला तिमी कमजोर हौ, तिमी कसैको इशारमा चल्नुपर्छ भन्ने चिन्तनले महिलालाई कमजोर ठान्ने अवस्था छ,’ उपमेयर थापाले भनिन्, ‘यही कमजोरीपनका कारण महिलामाथिको हिंसा, हत्या, बलात्कार जस्ता अपराध भएका छन् । यस्तै सोचलाई बदल्न महिलाको आत्मबल बढाउन यो कार्यक्रमको उद्देश्य हो ।’

तालिमले खासगरी विधि, प्रक्रिया सिकाउने भए भनि त्यसलाई आवश्यकता परेको समयमा उपयोग गर्न भने आत्मबल र मानसिक रुपले तयार रहन तालिमको आयोजना गरिएको महिला बालबालिका शाखाका प्रमुख शोभा शाहले बताइन् ।

प्रकाशित : फाल्गुन २१, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?