सम्झना बोहोराको हत्या आरोपमा एक जना पक्राउ - लुम्बिनी - कान्तिपुर समाचार

सम्झना बोहोराको हत्या आरोपमा एक जना पक्राउ 

माधव अर्याल

पाल्पा — युवतीको हत्या आरोपमा गुल्मी प्रहरीले ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरेको छ । गुल्मीको रेसुंगा नगरपालिका–३, भाडगाउँकी २१ वर्षीया सम्झना बोहोराको हत्या आरोपमा खत्री पक्राउ परेका हुन् ।

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय, गुल्मी 

गत माघ २९ गते घरबाट बेपत्ता भएकी बोहोराको शव फागुन १७ गते घर नजिकै झाडीमा भेटिएको थियो । गुल्मी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी खत्रीलाई सार्वजनिक गरेको हो । युवतीको हत्या आरोपी खत्रीले कर्तव्य गरेर हत्या गरेको स्वीकार गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले हत्या स्वीकार गरेका हुन् । हत्या किन र कसरी गरेको भन्ने थप अनुसन्धान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी पुरुषोत्तम पाण्डेले बताए । आरोपीले घरबाट बेपत्ता भएकै दिन माघ २९ गते युवतीको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको सूचना अधिकारी पाण्डेयले बताए । ‘अचम्म त के छ भने बेपत्ता भएकी युवतीको खोजतलासमा खत्रीको बढी नै सक्रियता देखिएको थियो,’ डीएसपी पाण्डेले भने, ‘आरोपी खत्रीले नै शवको गन्ध आएको जानकारी स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।’ घाँस काट्न जाने क्रममा शवको गन्ध आएको खबर खत्रीले नै दिएको स्थानीयले बताए ।

घटनासँग सम्बन्धित रहेर आरोपी खत्रीसँग प्रहरीले अनुसन्धान गर्दा हत्या स्वीकार गरेका हुन् । बेपत्ता किशोरीको शव घर नजिकैको झाडीमा टाउको बोरामा, अन्य भाग स्याउला, ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो । सासू तोमकला खत्रीले बुहारी सम्झनाको खोजी गर्न फोटोसहित निवेदन दिएकी थिइन् । प्रहरीका अनुसार खोजीका लागि सम्झनाको माइती पक्षबाट समेत निवदेन दिएका थिए । सम्झना बेपत्ता भएको तीन दिनपछि सासू तोमकलाले घरदेखि ५० मिटर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

‘सासूको आत्महत्याले गर्दा घटना झन् जटिल बन्दै गएको थियो,’ गुल्मी प्रहरीका सूचना अधिकारी पाण्डेयले भने, ‘बुहारी बेपत्ता सासूको आत्महत्याले झन् समस्या थपियो ।’ अनुसन्धानका क्रममा मृतक सम्झनाका ससुरा गणेशबहादुर खत्रीले लालबहादुरको नाममा किटानी जाहेरी दिएपछि अनुसन्धानले तीव्रता पाएको उनले बताए । ‘अनुसन्धान गर्दै जाँदा सफलतातर्फ पुगियो,’ उनले भने । आरोपी लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

अर्घाखाँचीमा वर्षको १० अर्ब रेमिट्यान्स

लकडाउनका बेला भने ५० प्रतिशत घटेको थियो
वीरेन्द्र केसी

काठमाडौँ — वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमिट्यान्स अर्घाखाँचीमा मात्रै वर्षमा झन्डै १० अर्ब भित्रिने गरेको छ । लकडाउनका कारण केही महिना घटे पनि मंसिरपछि क्रमशः सुधार भएको छ । फागुनमा रेमिट्यान्स धेरै भित्रिएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

जनगणनाअनुसार जिल्लामा १ लाख ११ हजार ३ सय ३६ जनसंख्यामध्ये ४० हजार वैदेशिक रोजगारीमा छन् । प्रतिव्यक्ति महिनामा २० हजार रुपैयाँका दरले वार्षिक ९ अर्ब ६० करोड रुपैयाँ भित्रिने गरेको जिल्ला समन्वय समिति र कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

वित्तीय संस्थाका अनुसार लकडाउनमा ५० प्रतिशत रेमिट्यान्स घटेको थियो । अहिले सुधार भएर माघमा ४५ प्रतिशत बढेको छ । कोभिड–१९ का कारण स्वदेश आएका युवा परिस्थिति सहज भएपछि पुनः वैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स बढेको हो । प्रायः घरैपिच्छेका महिला/पुरुष वैदेशिक रोजगारीमा छन् । तिनका परिवार गाउँ, सदरमुकाम र काठमाडौंलगायत ठूला सहरमा बस्छन् । गाउँगाउँमा वित्तीय संस्था पुगेपछि पैसा झिक्न सजिलो भएको छ । विदेशबाट पैसा मनी ट्रान्सफर र सिधै बैंक खातामा जम्मा हुने गरेको छ ।

जिल्लामा ‘क’ वर्गका बैंक १२ वटा छन् । अन्य वित्तीय संस्था, मनी ट्रान्सफर र सहकारीमार्फत रेमिट्यान्स भित्रिन्छ । जिल्लाको पहिलो साइन रेसुंगा बैंकमार्फत सबैभन्दा धेरै रेमिट्यान्स भित्रिन्छ । ४० वटा रेमिटमार्फत दैनिक ४० देखि ४३ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्रिने गरेको शाखा प्रबन्धक बुद्धिजीवन भुसालले जानकारी दिए । ‘खाडी मुलुकसहित अमेरिका, जापान, भारतबाट रेमिट्यान्स भित्रिन्छ,’ उनले भने, ‘लकडाउनमा ५० प्रतिशत घटेको थियो । माघमा ४५ प्रतिशत बढ्यो ।

फागुनमा धेरै भित्रिएको छ ।’ विदेशबाट रेमिट र बैंक खातामा पठाउने गर्छन् । दैनिक १० देखि १२ लाख रुपैयाँ भित्रिने गरेको जिल्लास्थित ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक प्रह्लाद न्यौपानेले बताए । पछिल्लो समय भारतबाट रेमिट्यान्स धेरै भित्रिन थालेको छ । एनआईसी एसिया बैंकमा दैनिक सरदर १० लाख, मेगा बैंकमा ५ लाख, एसबीआईमा ७ लाख, बैंक अफ काठमान्डूमा ५ लाख, कृषि विकास बैंकमा ६ लाख रुपैयाँ भित्रिने गरेको छ । केही सहकारीले पनि भुक्तानी गर्छन् । गाउँमा बैंकका शाखा छन् । टोलैपिच्छे सहकारी भएकाले धेरैले गाउँबाटै रेमिट्यान्स झिक्ने गर्छन् । घरैपिच्छेका वैदेशिक रोजगारमध्ये केही घरमा तीन–चार जनासम्म छन् । मालारानी–५ बाँगीका बोमबहादुर बस्नेतका तीन छोरी कतारमा छन् । उनीहरूले बुटवलमा घर घडेरी किनेका छन् । रेमिट्यान्सले गाउँमा खरका छाना हटाएर जस्तापाताले घर, गोठ, चर्पी चिटिक्क छन् । कच्ची घरका भित्ता, आँगन, दलान सिमेन्टले चिटिक्क पारिएका छन् ।

मोटो रकम रेमिट्यान्स भित्रिने गरे पनि स्थानीय तहले उद्यममा लगानी गर्ने वातावरण सिर्जना गर्न सकेका छैनन् । वैदेशिक रोजगारीबाट फर्किएकामध्ये केहीले मात्र कृषि उद्यममा लगानी गरेर काम गरेको देखिन्छ । वैदेशिक रोजगारीमा रहेका परिवार छोराछोरी पढाउन, कलेज पढ्न भन्दै सहरमा डेरा गरी बस्ने गर्छन् । रेमिट्यान्सका कारण गाउँका कलेजमा उच्च शिक्षा पढ्ने छोरीबुहारीको संख्या धेरै छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×