अर्घाखाँचीमा वर्षको १० अर्ब रेमिट्यान्स- लुम्बिनी - कान्तिपुर समाचार

अर्घाखाँचीमा वर्षको १० अर्ब रेमिट्यान्स

लकडाउनका बेला भने ५० प्रतिशत घटेको थियो
वीरेन्द्र केसी

काठमाडौँ — वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमिट्यान्स अर्घाखाँचीमा मात्रै वर्षमा झन्डै १० अर्ब भित्रिने गरेको छ । लकडाउनका कारण केही महिना घटे पनि मंसिरपछि क्रमशः सुधार भएको छ । फागुनमा रेमिट्यान्स धेरै भित्रिएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

जनगणनाअनुसार जिल्लामा १ लाख ११ हजार ३ सय ३६ जनसंख्यामध्ये ४० हजार वैदेशिक रोजगारीमा छन् । प्रतिव्यक्ति महिनामा २० हजार रुपैयाँका दरले वार्षिक ९ अर्ब ६० करोड रुपैयाँ भित्रिने गरेको जिल्ला समन्वय समिति र कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

वित्तीय संस्थाका अनुसार लकडाउनमा ५० प्रतिशत रेमिट्यान्स घटेको थियो । अहिले सुधार भएर माघमा ४५ प्रतिशत बढेको छ । कोभिड–१९ का कारण स्वदेश आएका युवा परिस्थिति सहज भएपछि पुनः वैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स बढेको हो । प्रायः घरैपिच्छेका महिला/पुरुष वैदेशिक रोजगारीमा छन् । तिनका परिवार गाउँ, सदरमुकाम र काठमाडौंलगायत ठूला सहरमा बस्छन् । गाउँगाउँमा वित्तीय संस्था पुगेपछि पैसा झिक्न सजिलो भएको छ । विदेशबाट पैसा मनी ट्रान्सफर र सिधै बैंक खातामा जम्मा हुने गरेको छ ।

जिल्लामा ‘क’ वर्गका बैंक १२ वटा छन् । अन्य वित्तीय संस्था, मनी ट्रान्सफर र सहकारीमार्फत रेमिट्यान्स भित्रिन्छ । जिल्लाको पहिलो साइन रेसुंगा बैंकमार्फत सबैभन्दा धेरै रेमिट्यान्स भित्रिन्छ । ४० वटा रेमिटमार्फत दैनिक ४० देखि ४३ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्रिने गरेको शाखा प्रबन्धक बुद्धिजीवन भुसालले जानकारी दिए । ‘खाडी मुलुकसहित अमेरिका, जापान, भारतबाट रेमिट्यान्स भित्रिन्छ,’ उनले भने, ‘लकडाउनमा ५० प्रतिशत घटेको थियो । माघमा ४५ प्रतिशत बढ्यो ।

फागुनमा धेरै भित्रिएको छ ।’ विदेशबाट रेमिट र बैंक खातामा पठाउने गर्छन् । दैनिक १० देखि १२ लाख रुपैयाँ भित्रिने गरेको जिल्लास्थित ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक प्रह्लाद न्यौपानेले बताए । पछिल्लो समय भारतबाट रेमिट्यान्स धेरै भित्रिन थालेको छ । एनआईसी एसिया बैंकमा दैनिक सरदर १० लाख, मेगा बैंकमा ५ लाख, एसबीआईमा ७ लाख, बैंक अफ काठमान्डूमा ५ लाख, कृषि विकास बैंकमा ६ लाख रुपैयाँ भित्रिने गरेको छ । केही सहकारीले पनि भुक्तानी गर्छन् । गाउँमा बैंकका शाखा छन् । टोलैपिच्छे सहकारी भएकाले धेरैले गाउँबाटै रेमिट्यान्स झिक्ने गर्छन् । घरैपिच्छेका वैदेशिक रोजगारमध्ये केही घरमा तीन–चार जनासम्म छन् । मालारानी–५ बाँगीका बोमबहादुर बस्नेतका तीन छोरी कतारमा छन् । उनीहरूले बुटवलमा घर घडेरी किनेका छन् । रेमिट्यान्सले गाउँमा खरका छाना हटाएर जस्तापाताले घर, गोठ, चर्पी चिटिक्क छन् । कच्ची घरका भित्ता, आँगन, दलान सिमेन्टले चिटिक्क पारिएका छन् ।

मोटो रकम रेमिट्यान्स भित्रिने गरे पनि स्थानीय तहले उद्यममा लगानी गर्ने वातावरण सिर्जना गर्न सकेका छैनन् । वैदेशिक रोजगारीबाट फर्किएकामध्ये केहीले मात्र कृषि उद्यममा लगानी गरेर काम गरेको देखिन्छ । वैदेशिक रोजगारीमा रहेका परिवार छोराछोरी पढाउन, कलेज पढ्न भन्दै सहरमा डेरा गरी बस्ने गर्छन् । रेमिट्यान्सका कारण गाउँका कलेजमा उच्च शिक्षा पढ्ने छोरीबुहारीको संख्या धेरै छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

पानी नभएपछि तराईतिर बसाइँसराइ

कृषि उद्यमबाट स्वरोजगार बन्न चाहने किसानलाई समस्या
वीरेन्द्र केसी

अर्घाखाँची — कुवामा पानी सुक्न थालेदेखि यहाँको असुरकोटकी विमला बैजालीलाई वर्षा सुरु नहुन्जेल पिउने पानी जोहो गर्न सकस हुन्छ । गत वर्षामा घैंटोमा संकलन गरेको पानी सकियो । यस्तै अभावले गत वर्ष दुई छिमेकी बसाइँ सरेर तराई गइसके ।

‘गाउँकै जग्गामा केही कृषि उद्यम गरौं भनेर पनि के गर्नु ? हामीलाई पिउने पानी छैन,’ उनले भनिन्, ‘एक गाग्री पानी जोहो गर्न बिहानभरि लाग्छ ।’ पानी अभावले व्यावसायिक पशुपालन र कृषिबाट वञ्चित भइरहेको यहाँका बासिन्दाको गुनासो छ । जंगलमा रुखमुनि, खोला छेउका कुवा (पानीका मूल) गर्मी बढेसँगै सुक्छन् । अहिले घन्टौं हिँडेर खोलाबाट एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

गाउँमै तरकारी खेती, पशुपालन गरेर कृषि उद्यमबाट स्वरोजगार बन्ने सोच भए पनि पानी अभावले पतिलाई वैदेशिक रोजगारमा पठाउनुपरेको उनको भनाइ छ । भूमिकास्थान–५ बुधुनमाराकी कमला परियार सबेरै गाग्री बोकेर कुवातिर दौडिन्छिन् । घरमा पति र उनी छन् । उमेर ५९ पुग्यो । अरू बेला चिन्ता नभए पनि हिउँदभर घरमा पानीकै टन्टो हुन्छ । ‘सकिनसकी एक गाग्री पानी नल्याएसम्म घरमा चुलो बल्दैन,’ उनले भनिन्, ‘नजिकको मूल सुक्यो, खोला किनारमा जानुपर्छ ।’

करेसाबारीमा लगाएको साग, काउली, मूला पानी नभएर ओइिलाएका छन् । एउटा दुहुनो भैंसी छ । घाँस र पानी पेटभरि खुवाए मात्र दूध धेरै दिन्छ । घाँस प्रशस्त खुवाए पनि पानी अड्कलेरै दिनुपर्छ । पानी नभएकै कारण दुई महिनाअघि कमलाले दुई वटा बाख्रा बेचिन् ।

छत्रदेव गाउँपालिका–३ का विष्णुप्रसाद भुसालले गाउँमा पानी नभएकै कारण खोला किनारामा कृषि फार्म सञ्चालन गरेका छन् । ‘घरमा पिउने पानी छैन, हिउँदमा एक गाग्री पानीकै लागि कुवा खोज्न जंगल चहार्नुपर्छ,’ उनले भने, ‘पानीको दुःखकै कारण खोला किनारमा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेको छु ।’ पानीकै कारण प्रायः खोला किनारामा बसाइँ सरेका छन् । अलि पैसा हुने तराई र ठूला सहरमा जान्छन् । बर्खामा धारामा पानी आएपछि हिउँदमा आउँदैन । माघदेखि जेठसम्म जंगलका कुवामा गाग्री बोकेर जानुपर्छ । छिटो नगए पालो पाइँदैन । ‘बिहान ४ बजेदेखि नै कुवामा लाइनमा बस्नुपर्छ, पानीको दुःखले छाडेन,’ केरुंगाका लक्ष्मण खनालले भने ।

कुवाबाट बोकेर ल्याएको पानी अड्कलेर पिउनुपर्ने भएकाले यतिबेला गाईबाख्रा, भैंसी, कुखुरा धेरैले बेच्छन् । बर्खा सुरु भएपछि बल्ल थप्छन् । बारी खेतीयोग्य छ । तरकारी, अन्नबाली राम्रो उब्जनी हुन्छ । तर सिँचाइ नभएपछि हिउँदेबाली गहुँ ओइलाएको छ । अकासे–पानी आए गहुँलाई राहत हुने आशामा खनाल छन् । वाङ्लाकी विमला श्रेष्ठले जनसंख्या वृद्धि भएपछि पानी अभाव भएको बताइन् ।

‘पहिलो छरिएर रहेका बस्ती थिए, अहिले बाक्लो बस्ती छ,’ उनले भनिन्, ‘पानीका मुहान नजिकै छैनन् । भएको पानीले पुगेन ।’ धारामा आउने पानीले एक घरलाई एक गाग्री समेत नपुग्दा कुवा धाउनुपर्ने बाध्यता छ । पानी नभएपछि गाईवस्तु पाल्ने, बारीमा तरकारी उत्पादन गर्न सम्भव नभएको उनको भनाइ छ ।

जेठसम्म हरियो तरकारी बारीमा देख्न पाइँदैन । बजारबाट काउली, बन्दा, खुर्सानी, मुला, सागलगायत तरकारी किनेर खानुपरेको उनले बताइन् ।

प्रकाशित : फाल्गुन ८, २०७७ ०७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×