कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एसएसबीद्वारा नेपाली महिला पिटिएपछि सुनौली नाकामा तनाव

माधव ढुंगाना

भैरहवा — नेपाली महिलामाथि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुर्व्यवहार गरेपछि सुनौली नाकामा बुधबार तनाव भएको छ ।

एसएसबीद्वारा नेपाली महिला पिटिएपछि सुनौली नाकामा तनाव

भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध सयौंको संख्यामा उपस्थित स्थानीय नेपालीले बुधबार साँझ करिब ५ देखि ९ बजेसम्म दशगजा नजिक प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन नेपाल र भारत दुवैतर्फ बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए ।

सिद्धार्थनगर–१ को सीमावर्ती बेलहियाकी ३९ वर्षीया हिरा आले गुप्तामाथि सीमामा तैनाथ एसएसबीकी एक महिला सुरक्षाकर्मीले हातपात गरेको आरोप नेपाली पक्षको छ । गुप्ता आमासहित सामान किन्न सुनौली बजार जान लागेकी थिइन् । मूल नाकाबाट जान खोज्दा धेरै भीड देखेपछि अर्को बाटो जाँदा घटना भएको उनले बताइन् ।

‘सामान्य भनाभनमा उनले मलाई झापड हानेर कपाल लुछ्न थालिन्,’ गुप्ताले भनिन्, ‘मलाई पिटेपछि मैले पनि उनलाई पिट्दै कपाल लुछे ।’ उनीहरूलाई सुरक्षाकर्मीले छुट्याएका थिए । एसएसबीका सुरक्षाकर्मीले गुप्तालाई सिमानाबाट समातेर भारततर्फ लैजान लागेपछि नेपालतर्फका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले तानेर फिर्ता ल्याएका थिए ।

साढे ७ बजेतिर दुवैतर्फका सुरक्षा अधिकारी र स्थानीयसहितको टोली छलफलमा बस्न लागेका बेला अज्ञात व्यक्तिले प्रहार गरेको ढुंगाले भारतीय नागरिकलाई लागेपछि बैठक स्थगित भएको थियो । जताबाट गल्ती भए पनि आ–आफ्नोतर्फबाट महसुस गरी कारबाही गर्ने सर्तमा सहमति भएपछि नाका सञ्चालनमा रहेको डीएसपी सत्यनारायण थापाले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?