३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रितिक र नवीनको जोडी सफल

कान्तिपुर संवाददाता

तिलोत्तमा — चौथो बुटवल खुला लनटेनिस प्रतियोगितामा आइतबार रितिक राना र नवीन मगरको जोडीले विजय हात पारेको छ।

रितिक र नवीनको जोडी सफल

रूपन्देहीको बुटवलमा सञ्चालन भइरहेको प्रतियोगिताको पुरुष डबल्सतर्फ रितिक र नवीनको जोडीले प्रतिस्पर्धात्मक खेलमा प्रणव खनाल र सन्तोष खत्रीको जोडीलाई सुपर टाईमा पराजित गरेका हुन् ।

रितिक साविक विजेता हुन् भने प्रणव नेपालको नम्बर एक, सन्तोष नम्बर २ र नवीन मगर नम्बर ३ वरीयताका खेलाडी हुन् । पुरुष एकलतर्फ विभिन्न उमेर समूहका स्पर्धाबाट प्रणव खनाल, रितिक राना, निसान श्रेष्ठ र सन्तोष खत्री सेमिफाइनल प्रवेश गरेका छन् । महिला डबल्सतर्फ पहिलो सेमिफाइनलमा अभिलाषा विष्ट र इरा रावतको जोडीले प्रेरणा कोइराला र मायन्का राणाको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गरेको छ । क्वाटरफाइलमा उत्कृष्ट प्रदर्शन गरेको प्रेरणा र मायन्काले आफ्नो जोडीबीच तालमेल बिग्रिएपछि सेमिफाइनलमा हार बेहोर्नुपरेको बताए । प्रेरणा नियमित प्रतियोगितामा सहभागिता जनाइरहेकी छन् भने मायन्काले ३ वर्षपछि मात्रै राष्ट्रिय प्रतियोगितामा भाग लिएकी हुन् ।

आफ्नो नियमित अभ्यास भइरहे पनि डबल्समा जोडी बनेकीे साथी र आफू पहिलोपटक जोडी बनेर खेलेकाले बुझ्न समय लागेको राणाले बताइन् । उनले भनिन्, ‘म र जोडी दुवै सिंगल खेलाडी हौं, उनले भनिन्, जोडी बनेर खेल्न सँगैको अभ्यास र एक–अर्काको खेल बुझ्न जरुरी हुन्छ ।’ अभिलाषा र इरा वर्षौंदेखि जोडी भएर खेल्दै आएकाले उनीहरूलाई डबल्स जित्न सहज भएको देखिन्थ्यो ।

यसै गरी श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीले सलोनी तामाङ र आजा रेग्मीको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ । महिला सिंगलतर्फको सेमिफाइनलमा प्रेरणा, सलोनी, मायन्का र अभिलाषा पुगेका छन् । ३५ वर्षमाथि सिंगलतर्फ कमल भण्डारी, रामु विक, राजन पौडेल र सञ्जयप्रकाश श्रेष्ठ, ४५ वर्षमाथि सिंगलतर्फ चन्द्र शाही, गोपी भट्टराई, धर्म लामिछाने र उत्तम बोगटी सेमिफाइनल प्रवेश गरेका छन् ।

तेस्रो दिनको २६ वटा खेल सकिएको प्रमुख प्रशिक्षक कृष्णराज घलेले बताए । चौथो दिन विधागत खेलका फाइनल खेल हुने उनले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?