१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पालिकाको सीमा विवाद समाधानतर्फ

हरि गौतम

रुकुम पूर्व — लुम्बिनी प्रदेशको रुकुम पूर्वको भुमे गाउँपालिका र गण्डकीको बागलुङ निसिखोला गाउँपालिकाबीच सीमा विवाद टुंगिने भएको छ । भुमे–१ र निसिखोला–५ र ६ वडा जोडिएका छन् ।

भुमे गाउँपालिकाले सिमानामा प्रवेशद्वार निर्माण थालेको थियो । यसलाई निसिखोलाले रोकिदियो । निसिखोलाले निर्माण थालेको सडकलाई भुमेले रोकेपछि विवाद बढेको हो । वडा तह, गाउँपालिका र जिल्ला तहमा पटक–पटक छलफल गरेपछि संघीय तथा दुवै प्रदेशसभाका सदस्यको उपस्थितिमा विवाद समाधानका विषयमा छलफल भयो । प्रतिनिधिसभा सदस्य कमला रोका, लुम्बिनी प्रदेशसभा सदस्य तेजबहादुर ओली, गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीको उपस्थितिमा भएको छलफलले विवाद समाधानका लागि कार्यदल गठन गरेको छ ।

दुवै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सम्बन्धित वडाका अध्यक्ष र सर्वसाधारणको समेत उपस्थितिमा भुमेमा समन्वयात्मक बैठक बस्यो । यही बैठकबाट चैत महिनाभित्रै विवाद सक्ने गरी कार्यदल गठन गरेको हो । भुमेका गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले दुवै गाउँपालिका अध्यक्ष, सम्बन्धित वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, दुवै जिल्लाका नापी कार्यालयका प्रतिनिधि र सीमासम्बन्धी जानकारी राख्ने दुवै गाउँपालिकाका एक/एक जना सर्वसाधारण सदस्य रहेको कार्यदल गठन गरेको बताए । बैठकको अध्यक्षता दुवै अध्यक्षले आलोपालो गर्ने, सीमाको टुंगो लगाउन सम्बन्धित ठाउँमै पुग्ने, विकास निर्माणमा साझा लगानी गरेर जाने सहमति भएको अध्यक्ष बुढाले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा पर्ने यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ । यसैले पनि व्यवस्थित बनाउन दुवै पालिकाको लगानीमा पूर्वाधार निर्माण गर्ने गरी सम्झौता भइसकेकाले अब सीमाको टुंगो लगाउन मात्रै बाँकी रहेको उनले बताए । निसिखोला गाउँपालिकाका तारानाथ पौडेलले विवाद समाधान गर्ने र दुवैले लगानी गर्ने सहमति भएको बताए । अधिकांश क्षेत्रमा दुवै पालिका जोडिएकाले नमिली समस्या समाधान नहुने अवस्था छ ।

भुमे–१ र निसिखोला–६ को सीमा रहेको पातिहाल्ना अर्थात् इरनेटा दुवैको नजरमा परेको छ । मुख्य सडकमा रहेको यो ठाउँमा दुई वर्षदेखि भ्रमण गर्नेहरू बढेका छन् भने व्यवसाय फस्टाएको छ । यसैलाई आधार मानेर दुवै पालिकाले पर्यटकीय पूर्वाधार निर्माणको योजना बनाएका छन् । यो क्षेत्रका रिगलताल, तिलाचन ताल, हिमाली खर्क, चमेली खर्क, धुसेखर्क, चौंरीखर्क, ऐंसेलुडाँडा, पुजाखई, डाँडाखर्क, नोघोपु महत्त्वपूर्ण क्षेत्र हुन् ।

प्रकाशित : फाल्गुन १६, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?