बुटवल-नुवाकोटगढी केबलकार निर्माण सुरु

अमृता अनमोल

बुटवल — बुटवलको फूलबारीबाट पाल्पाको पर्यटकीय क्षेत्र नुवाकोटगढी जोड्ने केबलकार निर्माण सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक समारोहबीच आइतबार केबलकार शिलान्यास गरेका हुन् । 

बुटवल-नुवाकोटगढी केबलकार निर्माण सुरु

सिद्धबाबा केबुलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोटगढीसम्म केबुलकार निर्माण थालेको हो । यसको लम्बाई एक किलोमिटर ९४ मिटर छ ।

शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले केबलकार निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताए । ‘तराईमा गर्मी हुँदा शीतल खान बुटवल र आसपासका पर्यटकमात्र होइन भारतको उत्तर प्रदेशका पर्यटकलाई समेत नुवाकोटगढी लैजान सकिने छ,’ उनले भने ।

सिद्धबाबा केबुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले ८० करोड २५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको बताए । सिद्धबाबा केबलकार प्रालिमा रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरी करिब १ सय जनाको लगानी छ । सरकारले केबलकार निर्माण क्षेत्रभित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ । केबलकार निर्माण १८ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुडले बताए ।

केवलकारको एकतर्फी यात्रा समय आठ मिनेटको हुनेछ । जसमा २५ वटा गण्डोल हुनेछन् । जसमा सामान्यतया दैनिक ५ हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सकिने छ । क्षमता अभिवृद्धि गरेर दैनिक १० हजार पर्यटकलाई नुवाकोट लैजाने योजना छ ।

सिद्धबाबा केबुलकार प्रालिले केबलकारसँगै नुवाकोटमा अत्याधुनिक रिसोर्टसमेत निर्माण गरिरहेको छ । जसमा चिल्ड्रेन पार्क, बसपार्क, पर्यटन सूचना केन्द्रसहित ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले गुम्बा, शान्तिपार्क, भ्यूटावर, स्वास्थ्य केन्द्र लगायतका संरचना बनाउने छ ।

रुपन्देही र पाल्पा जिल्लाको सिमानामा रहेको नुवाकोट गढीमा त्यहाँको मनोरम प्राकृतिक दृश्यसँगै उत्तरतर्फ हिमश्रृंखला र दक्षिणतर्फ समथर फाँटहरु देख्न सकिन्छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?