कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बेलहिया नाकामा दिनहुँ प्रदर्शन

नाका बन्द रहँदा पर्यटक नआएको भन्दै व्यवसायी धर्नामा
सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको सीमा नाका बेलहिया बन्द रहेकाले भारतीयलगायत विदेशी पर्यटक नेपाल आउन नपाउँदा व्यवसाय धरापमा परेको भन्दै फागुन ३ देखि धर्ना दिइरहेका व्यवसायीले आन्दोलनका कार्यक्रम तीव्र पार्ने चेतावनी दिएका छन् ।

बेलहिया नाकामा दिनहुँ प्रदर्शन

कोरोनाका कारण ११ महिनादेखि बन्द रहेका होटल र पर्यटन व्यवसायीले नाका बन्द रहँदा पर्यटक नआएको भन्दै सीमा नाका बेलहियामा धर्ना दिइरहेका हुन् ।

सरकारलाई नाका खुला गर्न सातदिने अल्टिमेटम दिई अध्यागमन कार्यालयअगाडि शान्तिपूर्ण धर्ना दिइरहेका उनीहरूले सरकारका तर्फदेखि सुनुवाइ नभएपछि आन्दोलनलाई कडा बनाउने बताएका हुन् । शनिबारसम्म शान्तिपूर्ण धर्नामा बसी आन्दोलन गरिरहेकामा आइतबार जिल्लाका हरेक स्थानका चार सयभन्दा बढी व्यवसायी, नागरिक र संघसंस्थाका प्रतिनिधिलाई सहभागी गराई मैनबत्ती बालेर विरोध जनाउने कार्यक्रम रहेको सिद्धार्थनगर होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको भनाइ छ । ‘आइतबार धर्नाको सातौं दिन पुग्छ,’ उनले भने, ‘त्यसपछि पनि सम्बोधन नभए, नाका नखुले नेपाल–भारत दुवैतर्फका मालवाहक गाडी रोक्छौं । सम्पूर्ण होटल व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाउँछौं ।’

स्वास्थ्य सतर्कता अपनाई नाका खोल्न र निजी सवारीसहित भारतीय पर्यटकलाई नेपाल प्रवेश दिन रोक लगाउनु नपर्ने पर्यटन अभियन्ता तथा सिद्धार्थनगर होटल एसोसिएसनका सल्लाहकार चेतन पन्तको भनाइ छ । ‘सडकमा दसौं हजार मानिस उतारेर सभा गर्न सक्ने सरकारले नाका खोली पर्यटक आगमन र आर्थिक उकासमा किन सोच्न सकेन ?’ उनले भने, ‘यसरी नै नाका बन्द गरिरहने हो भने देशभरका पर्यटन व्यवसायी संकटमा पर्छन् ।’

११ महिनादेखि सरकारसँग आग्रह गर्दैमा समय बितेको होटल व्यवसायी वाईपी आचार्यले बताए । ‘न राहत पायौं, न नाका नै खुल्यो,’ उनले भने, ‘करोडौं लगानीको भर्पाई कसले गरिदिन्छ ?’ व्यवसाय सञ्चालन गर्नकै लागि ऋणधन गरी होटल खोलेका व्यवसायीले लगानी डुबे केही गर्न सक्ने उपाय नरहेको गुनासो गरे । पर्यटन व्यवसायीले गरिरहेको धर्ना कार्यक्रम चलिरहँदा शनिबार भारतीय सीमा सुरक्षा बल एसएसबीले ज्यादती गरेको भन्दै रूपन्देहीको नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालीले नाका अवरुद्ध गरे ।

भारतीय पक्षले नेपालीलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरूले शनिबार दिउँसो सीमा नाकामा विरोध प्रदर्शनसमेत गरे । भारतीय प्रहरीले नेपालीलाई रोक लगाएपछि नेपाली विरोधमा उत्रिएको जानकारी पाएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए । विरोध प्रदर्शन गर्दै नेपालीहरूले आवागमन ठप्प पार्ने गरी नाकामा उत्रिएपछि नेपाल–भारतका सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको थियो । नाका अवरुद्ध भएपछि एक घण्टाजति स्थिति अव्यवस्थित भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख ईश्वरी अधिकारीले बताए ।


प्रकाशित : फाल्गुन ९, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?