नेपालगन्ज–पोखरा उडान सुरु

कान्तिपुर संवाददाता

बाँके — नेपालगन्ज–पोखरा हवाई उडान सुरु भएको छ । निजी क्षेत्रको प्रयासबाट नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज उडान सुरु गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, पर्यटन व्यवसायी, जनप्रतिनिधिलगायत आन्तरिक पर्यटक सीता एयरलाइन्सबाट शुक्रबार पोखरा गएर उडान सेवाको थालनी गरियो । उक्त अवसरमा पोखराका व्यवसायी एवं पर्यटकले समेत नेपालगन्ज उडान गरेका थिए ।

दोहोरो हवाई उडानले पोखरा र नेपालगन्जको पर्यटकीय सद्भाव आदानप्रदान गर्ने सन्देश दिन खोजिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख राणाले बताए । नाटा बाँके च्याप्टर र गण्डकी प्रदेश नाटाको पहलमा नेपालगन्ज–पोखरा र पोखरा– नेपालगन्ज उडान सुरु भएको हो । नेपालगन्ज र पोखरालाई हवाई यात्रासँग जोड्ने योजना पुरानो भए पनि यसअघि यसले मूर्त रूप लिन सकेको थिएन ।

‘कुरा चलिरहेको हुन्थ्यो, सुरु भएको थिएन,’ नाटा बाँकेका प्रमुख श्रीराम सिग्देलले भने, ‘आखिर सुरु कसैले त गर्नैपर्ने थियो ।’ नेपालगन्ज नाका रुपैडिया हुँदै लखनऊ, कानपुर र भारतका विभिन्न स्थानदेखि आउने भारतीय पर्यटकलाई पोखरासम्म पुग्न हवाई उडानले सहजता प्रदान गर्ने गण्डकी प्रदेश नाटाका अध्यक्ष सञ्जय सिग्देल सञ्जयले बताए । पोखराका पर्यटक रारा, फोक्सुन्डो, बाँके, बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न जान थप सहज भएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?