कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोलम्बो हुँदै मानव तस्करी

लकडाउनयता बर्दियाको सीमावर्ती क्षेत्रबाट मात्रै ८ महिलाको उद्धार
कमल पन्थी

बर्दिया — घरेलु कामदारका रूपमा कुवेत लैजाने प्रलोभनमा श्रीलंका पुर्‍याएर अलपत्र बनाएको अभियोगमा बढैयाताल गाउँपालिका–३ का खेमबहादुर सुवेदी पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया महिलालाई भारतको नयाँदिल्ली, चेन्नई हुँदै श्रीलंकाको कोलम्बो पुर्‍याएर अलपत्र पारेको आरोपमा सुवेदीलाई फागुन ३ मा पक्राउ गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार सुवेदीलाई उनको पुर्ख्यौली घर पर्वत कुश्मा नगरपालिका–३ खुर्कोट नयाँपुलबाट पक्राउ गरिएको हो । सुवेदीले ती महिलालाई कोलम्बो पुर्‍याएपछि निरक खान र आरिफ खानको जिम्मा लगाएका थिए । खानद्वयले करिब १० महिनादेखि आफ्नै घरमा थुनेको अवस्थामा श्रीलंकाली प्रहरीले ती महिलाको उद्धार गरेको थियो । त्यहाँस्थित नेपाली दूतावासको सहयोगमा गत माघ ३० मा पीडित महिलालाई स्वदेश फर्काइएको ब्युरोले जनाएको छ । उनै महिलाको जाहेरीका आधारमा सुवेदी पक्राउ परेका हुन् ।

करिब दुई साताअघि विभिन्न प्रलोभनमा नयाँदिल्ली लैजान खोज्दा सशस्त्र प्रहरीले यहाँकी १४ वर्षीया किशोरीको उद्धार गर्‍यो । गुलरियास्थित सुरजपुर नाकामा जाँच गर्दा अवस्था शंकास्पद पाइएपछि उनको उद्धार गरिएको हो । उनलाई लैजाने व्यक्ति भारतमा भएकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । यस्तै, केही दिनअघि खाडी मुलुकमा रोजगारी लगाइदिने भन्दै मधुवन नगरपालिका–७ भगरैया टोल हुँदै नयाँदिल्ली लैजान लागिएका ३ महिलाको पनि उद्धार भयो । उनीहरूलाई भारतको बिछिया नाका पुर्‍याउने व्यक्ति भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । उद्धार गरिएका महिला काभ्रे, चितवन र दोलखाका रहेका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए ।

उनका अनुसार लकडाउन सुरु भएयता जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट भारत पुर्‍याउन लागिएका ८ महिलाको उद्धार गरिएको छ । उनीहरूमध्ये अधिकांशलाई नयाँदिल्ली, कोलम्बो हुँदै खाडी मुलुक पुर्‍याउने गरिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका सई नवराज रावलले यी घटनामा संलग्न ३ जनाविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दायर गरिएको छ । उद्धार गरिएकी एक महिलाले खाडी मुलुक पुग्न नेपालीलाई झन्झटिलो नभएकाले भारतीय बाटो प्रयोग गर्दै आएको बताइन् । यसमा नयाँदिल्ली, कोलम्बो र नेपालका तस्करहरू सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ । मधुवन नगरपालिकाका २ महिला दुई वर्षअघि बनारसबाट भागेर घर फर्किएका थिए । बनारस र नयाँदिल्लीमा नेपाली र भारतीय मानव तस्करले घर भाडामा लिई नेपाली, भारतीय र बंगलादेशी महिलालाई जम्मा पारी बेचबिखन गरेर खाडी पठाउँदै आएका उनीहरूले बताएका थिए ।

माइती नेपाल जिल्ला शाखा प्रमुख गायत्री नेपालले उद्धार गरिएका महिलालाई आफन्तको जिम्मा लगाउने गरेको जनाइन् । ‘तराई र पहाडी जिल्लाका महिलालाई प्रलोभनमा पारी भारत हुँदै खाडी मुलुक पुर्‍याउन थालिएको छ,’ उनले भनिन्, ‘बर्दियासँग सीमा जोडिएको भारतीय क्षेत्रमा घनाजंगल भएकाले यो रुटको प्रयोग मानव तस्करले गर्ने गरेका छन् ।’

प्रकाशित : फाल्गुन ७, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?