प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

अमृता अनमोल

बुटवल — प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार आयोजना निर्माणको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका-३ चिडियाखोलाबाटबाट पाल्पाको तिनाउको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गर्दै आउँदो फागनु १ गते त्यसको उद्घाटन गरिने विश्वास व्यक्त गरे ।

केबलकार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तराईमा प्रचण्ड गर्मी हुँदा पहाडमा जाने र शीतलता खाने केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने छ । नेपालका मात्र होइन भारतको उत्तर प्रदेशसम्मका पर्यटक तान्ने माध्ययम बनाउन सकिने छ ।’

केबलकार शिलान्यासपछि प्रधानमन्त्री ओलीले बुटवलमा आयोजना हुने आमसभालाई सम्बोधन गर्दैछन् ।

त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले तोकिएकै समयमा केबलकार निर्माण सक्न र पर्यटनमा टेवा पुर्‌याउन आग्रह गरे । बुटवल र आसपासमा अथाह सम्भावना रहेको बताउँदै उनले बिस्तारै यसको उपयोग गरेर राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‌याउनुपर्ने बताए ।

केबलकारको बुटवल-३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका-३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । लुम्बिनी केबुलकार प्रालिका सञ्चालक विश्वकर्माले ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुने बताए ।


तस्बिरहरु : अमृता अनमोल/कान्तिपुर

नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देही र पाल्पा जिल्लाअन्तर्गत उक्त क्षेत्रमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगको २५ वर्षका लागि भोगाधिकार गर्न स्वीकृति दिएपछि केबुलकार निर्माणको बाटो खुलेको हो ।

प्रकाशित : फाल्गुन १, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?