१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वदेशकै स्वरोजगारले सन्तुष्टि

विदेशमा दुःख गर्नुभन्दा मातृभूमिमै गरेको पौरखमा रमाउँदै युवा  
पुर्खाले सुरू गरेको पेसालाई बनाए व्यावसायिक

रूपन्देही/बाँके — रूपन्देहीको तिलोत्तमा–१ आरतीचोकका सुनिल पाण्डेले स्नातकसम्म अध्ययन गरे । व्यवस्थापन विषय पढे पनि त्यसअनुसार काम मिलेन । त्यसपछि रोजगारका लागि २०७३ सालमा जापान पुगे । त्यहाँ मासिक साढे २ लाख रुपैयाँ कमाइ थियो । लामो समय त्यहाँ बसेनन् । मुलुक फर्किएर बाख्रापालन सुरु गरे ।

स्वदेशकै स्वरोजगारले सन्तुष्टि

‘एक वर्ष जापान बसें, पैसा पनि कमाएँ,’ उनले भने, ‘सन्तुष्ट नभएपछि मुलुक फर्किएँ ।’ जापानका गाई फार्म, बाख्रा फार्म अवलोकन गरेर स्वदेशमै कर्म गर्ने मानसिकतासाथ आफू फर्किएको उनले बताए ।

२०७४ सालबाट पाण्डेले घरमै लुम्बिनी गोट फार्म चलाएका छन् । अहिले फार्ममा ६५ वटा बोयर बाख्रा छन् । सबै अस्ट्रेलियाबाट आयात गरिएका हुन् । ‘विदेशमा पैसा कमाए पनि एक्लो महसुस हुन्थ्यो,’ उनले भने, ‘परिवारको याद आउँदा गाह्रो हुन्थ्यो ।’ विदेशमा गर्ने मिहिनेत मुलुकमै गरेमा आम्दानी र सन्तुष्टि प्राप्त हुने उनको अनुभव छ । ५० लाख रुपैयाँ लगानी गरिएको उनको फार्मले २५ कट्ठा जमिनमा चर्चेको छ । थप डेढ बिघा जग्गा भाडामा लिएर घाँस लगाएका छन् । आफू, श्रीमती र एक सहयोगी खटिएका छन् ।

अमेरिकामा रहेका आमाबुबा र दाजुले बाख्रापालन नगर्न र उतै आउन जोड गरे पनि त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ । ‘गाउँटोलमा त्यत्रो पढेलेखेर पनि बाख्रा पालेको छ समेत भने,’ उनले भने, ‘अहिले तिनै व्यक्ति बाख्रापालनका लागि सल्लाह लिइरहेका छन् ।’ गत वर्ष फार्मबाट ७ लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए । कृषिसम्बन्धी कुनै औपचारिक तालिम र अध्ययन नभए पनि युट्युबमा हेरेर धेरै कुरा सिकेको उनले बताए ।

पाण्डेले फार्मलाई रिसर्च सेन्टरका रूपमा विकास गर्ने योजना बनाएका छन् । तीन वर्षभित्र ३ सय ५० वटा बोयर बाख्रा पुर्‍याउनेसमेत उनको योजना छ । अहिले उनी तिलोत्तमा नगरपालिका–१ को वडास्तरीय कृषि समन्वय समितिका संयोजकसमेत भएका छन् । गाउँमा कृषि गर्न चाहने अन्य युवालाई सघाउन र सल्लाहसुझाव दिन समितिबाट धेरै सहज भएको उनको भनाइ छ । पाण्डेको फार्ममा उत्पादित बाख्राका पाठापाठी हेटौंडा, गुल्मी, दाङ, पाल्पालगायत जिल्लामा बिक्री भइरहेका छन् ।

बुटवल–१८ बेतानीका ३० वर्षीय सुदर्शन पन्तले २०६८ सालदेखि साढे नौ बिघामा भेडेखुर्सानी (क्याप्सिकन) खेती गरिरहेका छन् । स्नाकोत्तरसम्म अध्ययन गरेका उनले यसको व्यावसायिक उत्पादनले आम्दानी र खुसी दुवै मिलेको बताए । ‘घरपरिवार, आफन्त, साथीभाइ कसैबाट सहयोग भएन,’ उनले भने, ‘अहिले सबैले नाम लिने, सल्लाह लिने पात्र बन्न पाइएको छ ।’ पढिसकेपछि केही न केही पेसा अँगाल्नैपर्ने सोच समाजको रहेकाले आफूले अन्यत्र जागिर खानुभन्दा आफ्नै व्यावसाय सुरु गरेको उनको भनाइ छ । अफ सिजन र सिजन दुवै समयमा क्याप्सिकन बिक्री हुने गरेको उनले बताए । उनको फार्ममा ४० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।

पर्यटकीय क्षेत्रका होटल एवं तरकारी बजारमा अत्यधिक माग हुने गरेको क्याप्सिकनमा लगानी भएको साढे ४ करोड रुपैयाँको मुनाफा चाँडै कभर हुनेमा आफू विश्वस्त रहेको पन्तले सुनाए । ‘केही रकम आफ्नै र केही वित्तीय कर्जामा लगानी गरेको छु,’ उनले भने, ‘सरकारी अनुदानले हामीले गरेको कृषिका लागि छेउ पनि भेट्दैन ।’ पाल्पा र बुटवल गरी दुई ठाउँमा सञ्चालित उनको फार्म अवलोकन गर्न छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची नवलपरासीदेखि किसान आउने गरेका छन् । आफू स्वयं विभिन्न जिल्लामा गई तालिम दिने र किसानलाई यो खेतीबारे सिकाउने गरेको पन्तको भनाइ छ । नेपाली समाजले पढेका मानिसले कृषि रोज्दा किन होला, के गर्ला भनेर कुरा गर्ने प्रवृत्ति चिर्नसमेत आफूले कृषिकर्म रोजेको उनले सुनाए । क्याप्सिकन फार्मबाट उनले वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको सैनामैना नगरपालिका–९ शंकरपुरका किसान सागर लम्सालले कृषि गर्न लागेको सात वर्ष भयो । नमुना मल्टिप्रपोज कृषि फार्म नाम दिइएको उनको फार्ममा तरकारी खेती, बंगुर, माछा, भैंसीपालन भइरहेको छ । ‘६ बिघा क्षेत्रफलमा यी सबै काम गरेको छु,’ उनले भने, ‘अहिलेसम्म ३५ लाख रुपैयाँ लगानी भएको छ ।’ तीन वर्षदेखि उनको फार्म व्यावसायिक रूपमा अघि बढेको छ । यसलाई बढाएर ठूलो व्यावसायिक प्रतिष्ठानका रूपमा विकास गर्ने उद्देश्यसहित अघि बढेको लम्सालले बताए ।

स्नातक पढेका उनले कृषि पेसामा लाग्नुपूर्व यसबारेको धारणा परिवार र अन्यलाई सुनाउँदा खिल्ली उड्ने गर्थ्यो । तर आफ्नो रुचि कृषिमै भएकाले कसैको कुरा नसुनी काम गर्न थालेको उनको भनाइ छ । वार्षिक ७ लाखभन्दा बढी कमाइ हुने गरे पनि त्यसलाई लगानीमै थप्दै गइरहेकाले जोगिएको छैन । फार्मको विकास भने भइरहेको उनले बताए । केही समय शिक्षण पेसासमेत गरेका ३० वर्षीय लम्सालले पुर्खाले गरेको पेसा नै अहिले व्यावसायिकतातर्फ अघि बढेकाले राम्रै भविष्य रहेको सुनाए ।

कृषिले बिर्सायो विदेश

दक्षिण कोरियामा श्रम गर्दा बर्दियाका ३५ वर्षीय कमल वलीलाई घर फर्किउँला भन्ने थिएन । फलामको कारखानामा ज्यानै जोखिममा राखेर काम गर्नुपर्ने उनको दैनिकी अहिले सम्झिँदा पनि शरीर सिरिङ्ग हुन्छ । दुःखसुख गरेर कमाएको पैसा लिएर उनी स्वदेश फर्किएको दुई वर्ष भयो । अहिले भने विदेशमा दुःखले आर्जेको त्यही रकम स्वदेशमै लगानी गरी व्यवसाय थालेका छन् ।

अहिले १० कट्ठा जमिन भाडामा लिएर वलीले कृषि फार्म सुरु गरेका छन् । त्यहाँ उनले कडकनाथ कुखुरा, लोकल कुखुरा र बाख्रापालन गरेका छन् । उनी बिहानै ५ बजे उठेर फार्ममा आउँछन् । ६० लाख रुपैयाँ लगानीमा फार्म सञ्चालन गरे पनि उनले अहिलेसम्म कुनै पनि सरकारी अनुदान लिएका छैनन् । ‘विदेशमा कमाएको लगानीमा काम थालेको छु,’ उनले भने, ‘अनुदान खोज्नतिर लागिनँ ।’ वलीले कोरियामा बस्दा फुर्सदको समयमा त्यहाँको कृषि कर्म अवलोकन गरेका थिए । नेपाल फर्किएपछि कृषिको सम्भावना प्रशस्त देखेपछि वली विदेश जान चाहनेनन् । ‘कुखुरा पालनमा फाइदै फाइदा देखें,’ उनले भने, ‘कडकनाथ कुखुराको माग दिनानुदिन बढ्दै छ ।’ दुई सयभन्दा बढी कुखुरा पाल्न थालेका उनले लकडाउनमा समेत घाटा व्यहोर्नुपरेन ।

व्यवसाय गर्न वलीलाई पहिलेदेखि नै मन थियो । तर आर्थिक अभावले बिदेसिनुपरेको उनले बताए । कोरियामा बस्दा उनले स्वदेशको महत्त्व बुझे । सीप र परिश्रम गर्न सके विदेश जानुपर्दैन भन्ने वलीलाई लागेको छ । यद्यपि प्रायः युवा व्यवसाय गर्नकै लागि लगानी जुटाउन विदेश जाने गरेको उनले सुनाए । वलीको फार्ममा सात जना युवाले रोजगारी पाएका छन् । कृषि फार्मलाई व्यवस्थित बनाउँदै जाने सोचमा उनी छन् । साथै युवालाई कुखुरापालनमा आकर्षित गर्न चल्ला वितरण गरेर यस पेसाप्रति उत्साहित गराउने योजनामा छन् । ‘अनुदानमा नपरेका ससाना किसानलाई चल्ला वितरण गरेर सहयोग गर्ने मन छ,’ उनले भने, ‘व्यवसाय राम्रो हुँदै गएपछि यो काम गर्छु ।’

बाँकेको बैजनाथ–२ का जनकप्रसाद भट्टराईलाई पनि कृषि पेसाले विदेशी भूमि बिर्साएको छ । सात वर्षअघि माल्दिभ्स जाँदाको क्षण उनी भुलेर पनि सम्झन चाहँदैनन् । पाँचतारे होटलमा जागिर दिने भन्दै दलालद्वारा झूटो आश्वासन दिएर माल्दिभ्सको एउटा सानो चिया पसलमा लगियो । ३४ वर्षीय उनले १७ महिना काम गर्दा जम्मा १ हजार डलर कमाएको बताए । आफूमाथि ठगी भएको आरोपमा त्यहाँको प्रहरी चौकी धाउँदाधाउँदै उनी आजित भएका थिए ।

‘धन्न जसोतसो घर फर्किन पाएँ,’ उनले विगत सम्झिए, ‘त्यसपछि कृषिमै आबद्ध भएँ ।’ भट्टराईले सुरुमा च्याउ खेती गरे । लामो समयसम्म यही व्यापारमा व्यस्त भएका उनलाई कोहलपुरमा अधिकांशले च्याउवाला भनेर चिन्छन् । उनका अनुसार दैनिक ६ क्विन्टलसम्म उत्पादित च्याउ बजारमा खपत हुन्थ्यो । च्याउ बेचेरै उनी नेपाल सरकारबाट उत्कृष्ट कृषकको सम्मान पाउन सफल भए । तर यस वर्ष भने उनले कृषि क्षेत्रको बाटो परिवर्तन गरेका छन् । यस वर्ष उनले लौकाट, बट्टाई, हाँस र लोकल कुखुरा पाल्न सुरु गरेका छन् ।

प्रकाशित : माघ २५, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?