रोल्पामा ट्यांकर दुघर्टना हुँदा चालकको मृत्यु

काशीराम डाँगी

रोल्पा — बिहीबार दिउँसो रोल्पामा पेट्रोल र डिजेल बोकेको ट्यांकर दुर्घटना भएको छ । नेपाल आयल निगमले रोल्पा लिबाङस्थित जलजला आयल स्टोरका लागि पठाएको ट्यांकर लिबाङ नजिकै दुर्घटना परेको हो ।

रोल्पामा ट्यांकर दुघर्टना हुँदा चालकको मृत्यु

प्रहरीका अनुसार ना ४ ख २२५७ नम्बरको ट्यांकर स्थानीय भदौरे मन्दिरछेउ दुघर्टना हुँदा घाइते भएका चालकको उपचारका क्रममा रोल्पा अस्पतालमा मृत्यु भएको छ । सहचालक गम्भीर घाइते छन् । निगमले नेपालगञ्जबाट रोल्पामा इन्धन पठाएको थियो । साँघुरो सडक, घुम्ती र बढी भार भएका कारण ट्यांकर सडक मुनि खसेको थियो । घटनास्थलमा ट्यांकर पल्टिएपछि ठूलो मात्रामा इन्धन पोखिएको थियो । प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले प्रहरी सहितको उद्धार टोली खटिएको बताए । ‘घाइतेलाई उपचारका लागि अस्पताल लैजाने र ट्यांकरको सुरक्षार्थ प्रहरी खटाएका छौं ।’ प्रनाउ सुवेदीले बताए । बढी भारका कारण अनियन्त्रित भई ट्यांकर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाइते अवस्थामा रेउघास्थित रोल्पा अस्पतालमा उपचारका लागि पुर्‍याइएका बाँकेको नेपालगञ्ज निवासी ३६ वर्षका चालक अर्पणचन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते सहचालक भारतको वहराइज जमुना–१ निबासी १९ वर्षका सुनिल शंकरलाई थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर अस्पतालमा पठाइएको छ । सडकको माथिल्लो घुम्तीबाट खसेर तल्लो सडकमा आएको ट्यांकर खस्नुको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले ट्यांकरमा भएको ९ हजार लिटरमध्ये ३ हजार लिटर इन्धन पोखिनबाट जोगिएको जनाएको छ । ठूलो मात्रामा सडकमा पोखिएको पेट्रोल र डिजलको गन्ध टाढैसम्म आएको स्थानीयले बताए ।

दुर्घटनास्थलमा रोल्पा नगरपालिकाले दमकल पुर्‍याएको छ । ट्यांकर दुर्घटनापछि अवरुद्ध भएको सडक खुलाउन प्रहरी खटिएको छ ।

प्रकाशित : माघ १५, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?