बलात्कार आरोपमा ट्राफिक प्रहरीसहित २ पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार

बलात्कार आरोपमा ट्राफिक प्रहरीसहित २ पक्राउ

घनश्याम गौतम

रूपन्देही — सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले ट्राफिक प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिकामा डेढ महिनाअघि एक किशोरीलाई सामूहिक बलत्कार गरेको र एक किशोरीको नग्न तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले कपिलवस्तुका दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

रूपन्देहीका प्रहरी प्रमुख एपी प्रविण पोखरेलले कात्तिक २३ गते कञ्चन गाउँपालिका–५ भैसाहीमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको र अर्की किशोरीको नग्न फोटो सार्वजनिक गरेको भन्दै चार जनाविरुद्ध उजुरी परेको बताए ।

त्यही उजुरीका आधारमा कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका रूपन्देहीमा कार्यरत प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । बलत्कारमा पर्ने र नग्न तस्बिर सार्वजनिक हुने दुवै किशोरी कपिलवस्तुकै हुन् । भैसाहीमा बिरामी आफन्त भेट्न गएका बेला बलात्कृत भएको किशोरीको उजुरीमा उल्लेख छ ।

एसपी पोखरेलले घटनामा कपिलवस्तुकै चार जनाविरुद्ध जाहेरी परेको र तीमध्ये दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए । ‘तीमध्ये ट्राफिक प्रहरी जवानसहित दुई जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘अन्यको खोजी भइरहेको छ ।’

प्रकाशित : माघ ११, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री कप : वाग्मती सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लम्बिनी प्रदेशसँग बराबरी खेलेको वाग्मती प्रदेश काठमाडाैंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमाञ्चक बराबरी खेलेको वाग्मतीले अन्तिम चारमा स्थान बनाउँदै सेमिफाइनलमा पुगेको हो । वाग्मतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो ।

रोमाञ्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । लुम्बिनीले ९ विकेट गुमाइसकको थियो । क्रिजमा रहेका दिपेन्द्र रावत रन आउट भएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए । कृष्ण कार्कीले ४१ रन बनाए । यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए ।

वाग्मतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए । रामनरेश गिरी, इशान पाण्डे र तिलक भण्डारीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । वाग्मतीका लागि आदिल खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेलेका थिए । आदिलले ५५ रन जोड्दा इशानले ५१ रनको योगदान गरेका थिए । यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ कप्तान ज्ञानेन्द्र मल्ल १४ र नन्दन यादव ११ रनमा अविजित रहे ।

लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए । कृष्ण कार्की र सन्दीप सुनारले २/२ विकेट लिए ।

लुम्बिनीसँगको खेल बराबरी भएसँगै समूह ‘बी’ एपीएफले ४ खेलमा ७ अंक जोड्यो । एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो । लुम्बिनीले भने ४ खेलमा ५ अंक जोड्न सक्यो । लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश–२ खेल्ने छ । पुलिस र प्रदेश–२ बीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।

प्रकाशित : माघ ११, २०७७ १८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×