लुम्बिनीका ९८३ वडामा हरित स्वयंसेवक- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीका ९८३ वडामा हरित स्वयंसेवक

युवालाई कृषि पेसाप्रति आकर्षित गर्ने र कृषिलाई उद्यम एवं व्यवसायमा जोड्ने लक्ष्य
अमृता अनमोल

बुटवल — युवालाई कृषि पेसाप्रति आकर्षित गर्ने र कृषिलाई उद्यम एवं व्यवसायमा जोड्ने भन्दै लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले हरित स्वयंसेवक नियुक्त गरेको छ । 

प्रदेशका १ सय ९ स्थानीय तहका ९ सय ८३ वडामा एक–एक जना हरित स्वयंसेवक छनोट गरी नियुक्त गरेको हो । कृषि पढेका तथा कृषि व्यवसाय थालेका युवा त्यसमा छनोट भएका छन् । यो कार्यक्रमअन्तर्गत झन्डै १२ करोड रुपैयाँ लगानी हुनेछ ।

स्थानीय स्तरमा किसानलाई सरल, सहज र सुलभ तरिकाले कृषि सीप र प्रविधि हस्तान्तरण गर्न र कार्यान्वयनमा ल्याउन स्वयंसेवक नियुक्त गरिएको मन्त्री आरती पौडेलले बताइन् । ‘युवा किसान छनोट गरेर उनीहरूमा लगानी गरी नमुना उद्यमी किसान बनाइनेछ,’ उनले भनिन्, ‘यसले युवालाई कृषि पेसाप्रति आकर्षित गर्न र कृषिलाई उद्यम एवं व्यवसायमा जोड्न सकिनेछ ।’

मन्त्रालयले छनोट गरेका हरित स्वयंसेवकले मासिक वा वार्षिक रूपमा तलब भत्ता पाउनेछैनन् । तर, नमुना कृषि फार्म सञ्चालन गरी कृषि–उद्यमी बन्न रकम पाउनेछन् । त्यसका लागि मन्त्रालयको ११ करोड २१ लाख ६० हजार रुपैयाँ लगानी हुनेछ । यसबाट कृषि फार्म वा व्यवसाय सञ्चालन गरी नमुना कृषि उद्यमीका रूपमा आफ्नो पहिचान बनाउनुपर्नेछ । त्यसका लागि मन्त्रालयले प्रतिव्यक्ति एक लाख २० हजार लगानी गरेको छ ।

मन्त्रालयका सुचना अधिकारी सञ्जय ढकालका अनुसार स्वयम् सेवकले पहिलो वर्ष ५० हजार दोस्रो वर्ष ४० हजार र तेस्रो वर्ष ३० हजार रुपैयाँ रकम पाउनेछन् । उक्त रकममा ५० प्रतिशत लगानी आफ्नो लगाएर कृषि व्यवसाय वा उद्यम गर्नुपर्ने मापदण्ड बनाइएको छ । ‘नियुक्त भएका स्वयंसेवकले नमुना फार्म सञ्चालन गरुन् र नमुना कृषि व्यवसाय गरून् भनेर उनीहरूमा लगानी गरिएको हो,’ उनले भने । यसले अप्रत्यक्ष रूपमा निर्वाहमुखी कृषि–प्रणालीलाई व्यावसायिक बनाउन र कृषि तथा पशुसेवा प्रवाहलाई स्थानीय स्तरमा पुर्‍याउन सहयोग पुग्ने उनले बताए ।

स्वयंसेवकलाई कृषिविज्ञहरूले तीनदेखि एक साता कृषि–उद्यमी तालिम दिएका छन् । तालिममा सिकेका प्राविधिक ज्ञान आफ्नो क्षेत्रका किसानलाई सिकाउने उनीहरूको जिम्मा छ । मन्त्रालयले दिने अनुदान र किसानलाई आवश्यक पर्ने प्राविधिक सीपबारे स्वयंसेवकले सहजीकरण गर्नेछन् ।

प्रकाशित : पुस २९, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको ‘प्रोटोन सागा’ नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियाली कार कम्पनी प्रोटोनले निर्माण गरेको 'प्रोटोन सागा' नेपाल भित्र्याएको छ । प्रोटोन नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत गाडी नेपालमा सार्वजनिक गर्न लागिएको हो ।

प्रोटोन ३८ वर्ष पुरानो मलेसियाली अटोमोबाइल्स कम्पनी हो । सुरुमा मलेसियको सरकारी स्वामित्व रहेको प्रोटोन होल्डिङमा अहिले भोल्भो, जिली लगायतका नाम चलेका ब्रान्डको आवद्धता छ ।

'प्रोटोन सागा' को पुस २९ गतेदेखि आधिकारिक बिक्री सुरु गर्न लागिएको जगदम्बा मोटर्सले जनाएको छ । मोटर्सका उपाध्यक्ष दीपक अग्रवालका अनुसार काठमाडौंको गैह्रीधारामा रहेको सोरुमबाट बिक्री सुरु गरेर नेपालभरी विस्तार गरिने छ ।

हुन त प्रोटोन आजभन्दा करिव १५/२० वर्षअघि नै नेपालमा भित्रिएको थियो तर त्यसबेलाका डिलरले सेवा दिन नसक्दा प्रोटोन मलेसिया नै फर्किएको थियो । त्यतिबेलै लोकप्रिय भएको प्रोटन कारलाई जगदम्बाले फेरि नयाँ सोच र रिब्रान्डिङ गरेर बिक्री गर्दैछ । अग्रवालका अनुसार झण्डै १ वर्षअघि देखि नेपालमा प्रोटोन कारकोबारे 'रिसर्च' गरिएको थियो । उनी भन्छन्, 'हामीले पहिला प्रोटोन गाडी चढ्ने ५० भन्दा बढी उपभोक्तासँग सम्पर्क गरेर फिडव्याक लिएका थियौं । उहाँहरुको फिडव्याकले हामीलाई प्रोटोन भित्र्याउन उर्जा दियो ।'

सागा इन्ट्री लेभलको सबैभन्दा सुरक्षित र नयाँ फिचरसहितको सेडान कार हो । अन्य कम्पनीको यही सिरिजमा हेर्ने हो भने यसमा नयाँ विशेषता र सुरक्षाको मापदण्ड बढी छ । त्यसैले अग्रवाल दाबी गर्छन्, 'हुन त अरु कम्पनीको पनि इन्ट्री लेभलका कार छन् । तर प्रोटोन सागा त्यस्तो गाडी जसको मूल्य मात्रै होइन सुरक्षाको हिसाबले पनि उत्कृष्ट छ ।'

सागा यूरो स्टयान्डर्ड एनक्याप रेटिङमा फोर स्टार पाउने कार हो । सुरक्षाको यही प्रत्याभूति गराउँदै प्रोटोन सागा नेपालमा लन्च गरिएको हो । प्रोटोनले आफ्नो पहिलो कार सन् १९८५ मा प्रोटोन सागाकै रूपमा बजारमा ल्याएको र सोही गाडी नेपाल ल्याएर बिक्री गरिने कम्पनीको भनाइ छ । प्रोटोनका गाडी विश्वका ७० भन्दा बढीमा मुलुकमा पुगेको कम्पनीको भनाइ छ ।

हाललाई प्रोटोन सागा काठमाडौंको गैह्रीधारास्थित शोरुममा मात्र उपलब्ध हुनेछ । मोटर्सले आउँदा दिनमा सेवालाई थप विस्तार गर्दै पोखरा, विराटनगर, वीरगन्ज, धनगढी, नेपालगन्ज, इटहरीलगायत सहरमा आफ्नो डिलर र सर्भिस सेन्टर सुरु गर्ने दीर्घकालीन रणनीति बनाएको छ । यसका लागि कम्पनीले डिलरको आव्हान समेत गरिसकेको छ । साथै प्रोटोनका अन्य चर्चित मोडल पनि ग्राहकका चाहना र मागबमोजिम क्रमबद्ध रुपमा नेपाल भित्र्याउने जगदम्बाको योजना छ । उपाध्यक्ष अग्रवाल भन्छन्, 'हामीले इन्ट्री लेभलको मात्रै होइन त्यस माथिका ह्याचव्याग, स्पोर्ट युटीलिटी, प्रिमियम कार भित्र्याउँछौं ।'

प्रोटोनको वर्कशप ललितपुरको कुपन्डोलमा छ । चाँडै नै नेपालभर १२ स्थानमा सञ्जाल विस्तार गर्ने योजना छ, जहाँ सर्भिस र स्पेयर पार्टस् पनि उपलब्ध हुनेछन् । अग्रवालका अनुसार कम्पनीले कार बिक्रीपछिको सेवालाई विशेष ध्यान दिएको छ । उनले भने, 'त्यही भएर अब चाँडै नै सातै प्रदेशका मुख्य सहरमा सर्भिसिङ सेन्टर र स्पेयर पार्टस् बिक्री कक्ष राखिने छ ।'

प्रोटोन सागामा एलिगेन्ट अरस्पोइलर, नयाँ १५ इन्चको एलोई ह्वील डिजाइन, रिमोट ट्रंक रिलिजजस्ता विशेषता छन्। प्रोटोन सागामा हिलहोल्ड एसिस्ट, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा र ब्रेक एसिस्टलगायत सुरक्षा विशेषता छन्। यस्तै कारको ब्रेकिङ सिस्टम अत्याधुनिक छ । यूरो एनक्याप रेटिङमा फोर स्टार पाएको कार हो । ५ वटा रंगमा उपलब्ध छन् । कारमा १३ सय सीसीको पेट्रोल इन्जिन दिइएको छ ।

जगदम्बाले म्यानुअल ट्रान्समिसन भएको सागाको मूल्य ३५ लाख ५० हजार तथा अटोमेटिकको ३९ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

प्रकाशित : पुस २९, २०७७ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×