२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कोहलपुरमा विपन्‍न ६१ परिवारलाई पक्की घर

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकामा विपन्न समुदायका ६१ परिवारले पक्की घर पाएका छन् । स्थानीय चिडिमारलगायत दलित, लोपोन्मुख समुदायका लागि वडा नम्बर १२, १४ र १५ वडामा घर बनाइएका हुन् । 

कोहलपुरमा विपन्‍न ६१ परिवारलाई पक्की घर

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास (चिडिमार) कार्यक्रमअन्तर्गत बरन्डा र शौचालयसहित दुईकोठे घर बनाइएको हो ।

सहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख रामआश्रय साहले आर्थिक वर्ष २०७६/७७ मा कार्यक्रमअन्तर्गत ६१ वटा घर बनाएर हस्तान्तरण गरिएको बताए । उनका अनुसार वडा नम्बर १२ मा ३४ वटा, १४ नम्बरमा १५ वटा र १५ नम्बरमा १२ वटा घर बनाइएका हुन् ।

कोहलपुर नगरपालिका–१४ का वडा सदस्य जहगिर अली साईका अनुसार परम्परागत रूपमा चरा मारेर खाने चिडिमार समुदाय अहिले ज्याला–मजदुरीबाट जीविका चलाउँछन् । उक्त वडामा चिडिमारका ३३ घर छन् । उनीहरू त्यहाँ डेढ सयजति संख्यामा छन् ।

खरको छानामुनि बसेका उनीहरूले पक्की घरसँगै भरपर्दाे ओत पाएको बताए । ‘घर त पाइयो, अब जीविका निर्वाहका लागि रोजगारी पनि सरकारले दिनुपर्‍यो,’ स्थानीय नन्कु चिडिमारले भने, ‘बालबच्चा पाल्न काम नभएर हामीलाई मुस्किल छ ।’

सहरी विकास तथा भवन कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा संघीय ससर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन् । कोहलपुर–३ मा ५ वटा, वडा नम्बर १२ मा १० वटा, वडा नं १३ मा २८ वटा घर बनाइएका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि वडा नम्बर १२ मा ११ वटा घर बनाउने सम्झौता भएको छ । कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा घर बनेका थिए । वडा नम्बर १५ मा १४ र वडा नम्बर १४ मा १९ घर छन् ।

सहरी विकास तथा भवन कार्यालयका प्रमुख साहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णयअनुसार १ हजार ३७ र पुरानो संघीय कार्यालयबाट निर्माणाधीन ८ सय २९ वटामध्ये १ हजार ३ सय ५५ वटा घर निर्माण गरिएको सुनाए ।

प्रकाशित : पुस २७, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?