कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेवासुविधा नपाएपछि पीसीआर ल्याबका कर्मचारीले काम रोके

माधव अर्याल

पाल्पा — तोकिए बमोजिम सेवासुविधा नपाएकाे भन्दै पाल्पा अस्पताल अन्तर्गत कोभिड–१९ परीक्षण प्रयोगशालाका सबै कर्मचारीले आइतबारबाट काम रोकेका छन् । उनीहरुले पाल्पा अस्पतालका प्रमुखलाई ध्यानाकर्षण गराएर प्रयोगशालाका सम्पूर्ण सेवाहरु सञ्चालन गर्न असमर्थ रहेको जनाएका हुन् ।

सेवासुविधा नपाएपछि पीसीआर ल्याबका कर्मचारीले काम रोके

जिल्ला प्रशासन र तानसेन नगरपालिकालाई बोधार्थ दिएका उनीहरुले सुरु भएदेखिकै जोखिम भत्ता नपाएको बताए । प्रयोगशाला इन्चार्ज खिमध्वज कार्कीसमेत ऋषिकेशव आचार्य, नरेश पोखरेल, सन्दिप कँडेल, शालु बुढाथोकी, सागर केसी, विष्णु केसी, सुरज खातीले हस्ताक्षर गरेर प्रयोगशालाका सम्पूर्ण सेवाहरु सञ्चालन गर्न असमर्थ हुने जानकारी गराएका हुन् । उनीहरुले पुस १६ गते आफ्ना मागबारे जानकारी गराएको जनाएका छन् । १० दिनसम्म पनि मागहरुको कुनै सुनुवाई नभएकाले आइतबारदेखि काम रोक्न बाध्य भएको प्रयोगशाला इन्चार्ज कार्कीले बताए ।

उनका अनुसार प्रयोगशाला स्थापना भएपछिकै अहिलेसम्म जोखिम भत्ता पाल्पा अस्पतालले दिएको छैन । शतप्रतिशत जोखिम भत्ता दिने गरी कर्मचारी भर्ना गरेको थियो । अतिरिक्त समय काम गरेको र जोखिम भत्ता कुनै पनि नपाएको उनले बताए । सबै स्थानीय तहको बैठक बसेर यस विषयमा निर्णय गर्नुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । पाल्पा अस्पताललाई यस विषयमा जिल्ला वा मन्त्रालयले कसरी सञ्चालन गर्ने हो भन्ने विषयमा बुझ्न लगाएको उनले बताए । प्रयोगशाला दुई नगरपालिका र आठ गाउँपालिकाले सहयोग दिएर सञ्चालन गर्ने गरी सुरु भएको हो ।

प्रकाशित : पुस २६, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्