२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रोल्पामा आइसोलेसन पुन: संचालन

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गुरुङगाउँ आइसोलेसन चलाउने
काशीराम डाँगी

रोल्पा — नागरिक समुदायको दबाबपछि रोल्पामा कोरोना संक्रमतिलाई सुरक्षित राख्न आइसोलेसन पुन: सञ्‍चालन गर्ने निर्णय भएको छ । प्रदेशकै व्यवस्थित ७० बेडको आइसोलेसन केन्द्र हटाइएपछि नागरिक समुदायबाट दलका नेता र स्थानीय प्रशासनमाथि आइसोलेसन केन्द्र संचालन गर्न दबाब दिइँदै आएको थियो ।

रोल्पामा आइसोलेसन पुन: संचालन

नागरिक समुदायले सबै स्थानीय तह र स्थानीय प्रशासनमाथि कोरोना संक्रमण रोक्न तथा संक्रमितलाई अलग्गै राखेर उपचार गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षणसमेत गरेका थिए । ‘जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट पुन: आइसोलेसन केन्द्र संचालन गर्ने निर्णय भएको छ’, आइसोलेसन संचालन गर्न पहल गर्दै आएका रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले भने, ‘सबैको सक्रियतामा लामो छलफलपछि पुन: आइसोलेसन चलाउने सहमति भएको हो ।’ पुन: आइसोलेसन केन्द्र संचालन गर्ने प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको अध्यक्षतामा बिहीबारको बैठकले निर्णय गरेको हो ।

बैठकले सदरमुकाम लिबाङदेखि ५ किलोमिटर पूर्वको गुरुङ गाउँमा निर्माण गरिएको सामुदायिक भवनमा आइसोलेसन केन्द्र संचालन गर्ने निर्णय गरेको हो । हाल उक्त भवनमा कम्तीमा ३० जना कोरोना संक्रमितलाई राख्न व्यवस्थापन गर्ने तयारी छ । तर स्वास्थ्यकर्मीहरुका अनुसार प्रस्तावित भवनसम्म पुग्न सडक सहज छैन । अर्कोतिर गुरुङ गाउँ अग्लो स्थानमा भएकाले चिसोले बिरामीलाई समस्या हुने जिल्ला स्वास्थ्य प्रमुख अनिल केसीले बताए । ‘आइसोलेसन केन्द्र संचालन गर्दा सजिलो स्थान र सबैको पायक पर्ने स्थान खोज्नु उपयुक्त हुन्थ्यो,’ केसीले भने ।

गत जेठमा जलजला बहुमुखी क्याम्पस भवनमा व्यवस्थित आइसोलेसन केन्द्र संचालन गरिएको थियो । चिकित्सकसहित कोरोना संक्रमितलाई उपचारसमेत गर्न सकिने गरी संचालन गर्न सबै स्थानीय तहले ३/३ लाख आर्थिक सहयोग प्रदान गरेका थिए ।

जिल्लाभर कोरोना संक्रमण क्रम वृद्धि भइरुहेका बेला नेकपाका अध्यक्ष सुरेन्द्र घर्तीमगरले प्रमुख जिल्ला अधिकारी एवं सम्बन्धित सरोकारवाला गम्भीर हुन नसकेको पाइएको बताए । ‘सबै बीच समन्वय भएको पाइएन’, आक्रोशित मुद्रामा उनले भने, ‘जनताको स्वास्थ्य, शिक्षा र सुरक्षाका लागि जिम्मेवारी लिएका व्यक्तिबाट ठोस समन्वय भएको पाइएन । त्यस्तो गर्नु पदीय मर्यादा अनुसारको काम होइन’ उनले भने । कोरोना संक्रमण रोक्ने तथा योजना निर्माण गराउने सम्बन्धी समन्वय उचित प्रकारले हुन सकेको छैन ।

जिल्लामा हाल सक्रिय संक्रमित करिब २० जना छन् । कोरोना संक्रमणका कारण करिब आधा दर्जनको ज्यान गइसकेको छ । संक्रमित करिब २ सय जना सन्चो भएर घर फर्किएका छन् । रोल्पा अस्पतालकी प्रमुख डा. धनमाया घर्तीमगरले आइसोलेसन केन्द्र संचालन गर्न सकेमा कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने बताइन् ।

पालिकाले कोभिड अस्पताल संचालन गर्न थाले

कोरोना संक्रमण बढ्न थालेपछि थप सुरक्षित अपनाउन भन्दै स्थानीय तहले आफ्नै पहलमा कोभिड अस्पताल चलाउन थालेका छन् । पहिलोपटक त्रिवेणी गाउँपालिकाले ५ बेडको अस्पताल संचालन गरेको छ । पश्चिमी रोल्पास्थित जुगारमा निर्माण गरिएको सामुदायिक भवनमै गाउँपालिकाकै खर्चमा कोभिड संचालन गरिएको अध्यक्ष शान्तकुमार वलीले बताए ।

गाउँपालिकाको पहलमा एक जना चिकित्सकसहितको स्वास्थ्यकर्मीहरु समेत भर्ना गरिएको छ । तर कम सुविधा भएको निष्कर्षसहित चिकित्सक आउन नमानेको गाउँपालिकाले जनाएको छ । यस्तै आइतबारदेखि माडी गाउँपालिकाले समेत ५ बेड क्षमताकै कोभिड अस्पताल संचालन गरेको छ । अध्यक्ष नन्दबहादुर पुनले उक्त अस्पतालको सुरुआत गर्दै संक्रमितको पहिचान र उपचार गर्न सहज हुने उद्देश्यले अस्पताल चलाइएको बताए । यसअघि पूर्वको सुनिल स्मृति र दक्षिणको रुन्टीगढी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत कोरोना संक्रमितलाई उपचार गर्ने गरिएको छ ।

प्रकाशित : मंसिर २१, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?