बर्दिया — बर्दियासँग जोडिएको नेपाल भारत सिमानामा सशस्त्र प्रहरी बलको बीओपीको शुक्रबार उद्घाटन भएको छ । जिल्लामा हालसम्म ७ वटा बीओपी स्थापना भइसकेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले मधुवन नगरपालिका—९ धर्मबस्तीमा बीओपीको उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरी बल ३१ नम्बर गण अन्तर्गत भगरैयामा करिब १५ कट्ठा वन क्षेत्रको जग्गाको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली तैनाथ हुने सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए ।
नेपाल भारत सीमाको घना जंगलमा स्थापना भएको यस बीओपी स्थापनाले सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रण, जंगली जनावरबाट स्थानीयबासीको धनजन रक्षा गर्ने र शान्ति सुरक्षामा खटिने सशस्त्र प्रहरीका महानिरीक्षक खनालले बताए । 'राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्दे आएको छ,’उनले भने,‘०७४ साल देखि सीमामा १ सय ९३ बीओपी रहको छ, तीमध्ये ७ वटा चीन र अन्य भारतसँग जोडिएको सिमानामा तैनाथ छ ।’ करिब ८३ किमी लामो नेपाल भारत सिमानामा करिब ३ किमी दूरीमा बीओपी स्थापना हुने छ । भारतीय सीमा ८० प्रतिशत घना जंगल छ । जिल्लामा मुख्यालय गुलरियासहित सातवटा सशस्त्र प्रहरीका युनिट सिमा र राजमार्गमा परिचालित छन् ।
मधुवन नगरपालिका प्रमुख गणेश केसीले बीओपी निर्माण भएपछि सीमा सुरक्षा, आपराधिक गतिविधि, तस्करीलगायत अपराध रोकिने बताए । बर्दियासँग जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्ला पर्दछ । सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीको २६ वटा युनिट तैनाथ छ । बर्दियासँग भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्ला ८३ किमीसम्म जोडिएको छ । बीसवटा युनिट निर्माण भएपछि सीमा सुरक्षामा थप कडाइ हुनेछ ।
प्रकाशित : मंसिर १९, २०७७ १५:४९