सुस्तामा सोलार मिनी ग्रिड मार्फत बिजुली विस्तार- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुस्तामा सोलार मिनी ग्रिड मार्फत बिजुली विस्तार

नवीन पौडेल

परासी — भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा बिजुली बत्ती पुगेको छ । सुस्ता गाउँपालिका ५ मा सोलार मिनी ग्रिड प्रविधि मार्फत बिजुली बत्ती विस्तार गरिएको हो ।

सोलार मिनी ग्रिडको बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्‌घाटन गरे । आफ्नो भूमि जोगाउन भारतीय एसएसबीसंग लड्दै आएका सुस्ताबासीले अब टुकी र लालटिनबाट छुटकारा पाउने भएका छन् । नारायणी नदीको कारण विद्युत प्रसारणको लाइनमा जोडिन नसकेको सुस्ता अब भने सोलार ग्रिड मार्फत झिलीमिली भएको हो ।

सोलार मिनी ग्रिडको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताले आश गरेका राजनीतिक दलहरु आपसी किचलोमा रुमल्लिन नहुने बताए । ‘जनताले आशा र भरोसा गरेका राजनीतिक दल आपसी कलहमा अल्झिन हुँदैन । जनमतको सबैले कदर गर्नुपर्दछ,’उनले भने,‘जनताका आधारभूत आवश्यक्तामा मात्र ध्यान दिने हो भने पनि विकासले फड्को मार्न सक्दछ । जनताको इच्छा विपरीत आन्तरिक किचलोमा नफस्न म सबै रमजनितिक दलका नेतालाई आग्रह गर्दछु ।’

नारायणीमा जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्ने बाध्यता रहेको सुस्तामा विद्युत विस्तार गर्ने सम्भावना नभएपछि सौर्य मिनी ग्रिड परियोजना मार्फत बिजुली बाल्न लागिएको हो । सौर्य मिनी ग्रिड परियोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सौर्य मिनी ग्रिड निर्माण समितिका अध्यक्ष रविन्द्र जैसवालले सौय ऊर्जाको निमार्णसँगै सुस्ताबासीले राहातको महसुस गरेको बताए । यस परियोजनाबाट सुस्ताका २ सय ६५ घरधुरी उज्यालो हुनेछ । सौर्य मिनी ग्रिड परियोजनाको लागत ४ करोड ८० लाख ९५ हजार २ सय ६८ रुपैयाँ रहेको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

बालविवाहको आरोपमा पक्राउ

विप्लव महर्जन

सल्यान — घरमा पत्नी हुँदाहुँदै बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले बाग्चौर नगरपालिका–१ कोटबेतका २७ वर्षीय महेश बस्नेतलाई पक्राउ गरेको छ ।

उनले १६ वर्षीया बालिकालाई फकाएर बिहे गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । पीडित बालिकाकी आमा नभएको र बुवा सुस्त मनस्थितिका भएकाले उनले फकाएर बिहे गरेको प्रहरीले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएकी बालिकालाई संरक्षण गर्छु भन्दै लिएका उनले मंसिर १२ गते विवाह गरेका थिए । प्रहरीका अनुसार बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×