बर्दिया सैनिक मृत्यु प्रकरण : ४ जना पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिया सैनिक मृत्यु प्रकरण : ४ जना पक्राउ

कुटेर नहरमा फालेको पीडित परिवारको आरोप
कमल पन्थी

बर्दिया — मंसिर ३ गते वनभोज खान गएका नेपाली सेनाका सिपाही विष्णु रनपालको मृत्यु प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

वनभोजमा दुई समूहबीच भएको झगडापछि केही व्यक्तिले लखेट्दै जाँदा नहरमा डुबेर सिपाही रनपालको मृत्यु भएको आशंका गरिएको छ । घटनामा संलग्न १० जना व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काका अनुसार पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका—१ का २८ वर्षीय निरपेन्द्र वन, सोही ठाउँका २३ वर्षीउ प्रभात वन, ठाकुरबाबा—२ का ओमबहादुर विक र बारबर्दिया नपा—६ का १७ वर्षीय किशोर रहेको बताए । घटनामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । किटानी परेकामध्ये १० जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

मंसिर ३ गते बारबर्दिया नगरपालिका-१ स्थित बबई नदीको बॉध परेवाओडारदेखि करिब एक किलोमिटर दक्षिणमा वनभोज खान गएका दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । इलाका प्रहरी कार्यालय,बनियाभार, बारबर्दियाका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार झडपमा ढुंगामुढासमेत प्रयोग भएको अनुसन्धानमा देखिएको छ । ‘झडप कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘झडपमा घाइते भएका सैनिक अर्को समूहले लखेट्दा भाग्ने क्रममा नहरमा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ सैनिक रनपालको शव मंसिर ४ गते नहरमा फेला परेको थियो ।

विष्णुलाई नहरमा फालेको पीडित परिवारले आरोप लगाएका छन् । मृतकका बाबु धनबहादुर दमाईले छोरालाई कुट्दै लखटेर नहरमा फालेपछि मृत्यु भएको आरोप लगाएका छन् । उनले छोराको हत्यामा १४ जना संलग्न रहेको भन्दै उनीहरुविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । भद्रकाली गण, काठमाडौंमा कार्यरत विष्णु तिहार बिदामा घर आएका थिए । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय, बनियाभारले जनाएको छ ।

वनभोजस्थल जंगल क्षेत्र भएकाले आसपासमा घर,प्रहरी चौकी नभएका कारण सुरक्षाको दृष्टिले निकै जोखिम मानिन्छ । स्थानीयले यस क्षेत्रमा वनभोज खाने कार्य रोक्नु पर्ने माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर १०, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा

सन्जु पौडेल

बुटवल — बुटवलमा बुधबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । 

लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा नेकपाका महासतिवसमेत रहेका अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् ।

पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । विरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले विकास निर्माणका काममा कांग्रेसको समर्थन भए पनि राजधानी सारेकामा कांग्रेसले विरोध गरेको जनाए ।

यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । मंगलबार रुपन्देही आएका पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

आफूलाई कालो झण्डा देखाएकोबारे प्रतिक्रिया दिँदै पौडेलले भने, 'बुटवलमा केही विकास निर्माणका कार्यक्रम उद्घाटन गर्न आएको हुँ । त्यसक्रममा केही व्यक्तिले मलाई कालो झण्डा देखाउनुभयो । यसलाई मैले विकास र समृद्धिको विरोधी झण्डाको रुपमा लिएको छु ।'

प्रकाशित : मंसिर १०, २०७७ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×