बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा- लुम्बिनी - कान्तिपुर समाचार

बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा

सन्जु पौडेल

बुटवल — बुटवलमा बुधबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । 

लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा नेकपाका महासतिवसमेत रहेका अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् ।

पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । विरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले विकास निर्माणका काममा कांग्रेसको समर्थन भए पनि राजधानी सारेकामा कांग्रेसले विरोध गरेको जनाए ।

यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । मंगलबार रुपन्देही आएका पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

आफूलाई कालो झण्डा देखाएकोबारे प्रतिक्रिया दिँदै पौडेलले भने, 'बुटवलमा केही विकास निर्माणका कार्यक्रम उद्घाटन गर्न आएको हुँ । त्यसक्रममा केही व्यक्तिले मलाई कालो झण्डा देखाउनुभयो । यसलाई मैले विकास र समृद्धिको विरोधी झण्डाको रुपमा लिएको छु ।'

प्रकाशित : मंसिर १०, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

खोप ल्याउन भारतीय कम्पनीसँग छलफल गरिने

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप बनाइरहेको एसआईआईसँग छलफल गर्न बाल स्वास्थ्य तथा खोप शाखा प्रमुखलाई जिम्मा
अतुल मिश्र

काठमाडौँ — सरकारले कोरोनाविरुद्धको खोप ल्याउन सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालासँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो ।

खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्छ ।

स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमलाई भर्चुअल बैठक राखेर पुनावालासँग खोपको विषयमा छलफल गर्न निर्देशन दिएको छ । एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गर्ने सम्झौता गरेको छ । उक्त खोपलाई एसआईआईले ‘कोभिसिल्ड’ नामले निर्माण गरिरहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को निगरानीमा यसको परीक्षण चलिरहेको छ । सफल परीक्षण हुनासाथ नेपालमा ल्याउन सहज हुने सरकारको बुझाइ छ ।

स्रोतका अनुसार सीईओ पुनावालासँग केही दिनमै कुरा हुनेछ । यसबारे डा. गौतमले कुनै प्रतिक्रिया दिएनन् । ‘२ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने खोपको व्यवस्थापन गर्न हामीलाई सहज हुन्छ,’ डा. गौतमले भने, ‘मुलुकका लागि अनुकूल हुने सहज मूल्य वा अनुदानमा प्राप्त हुने डब्लूएचओबाट प्रिक्वालिफाइड वा आकस्मिक प्रयोगका लागि दर्ता भएका कोभिड खोप छिटो आपूर्ति गर्न सम्भावित सबै प्रक्रिया सुरु गरेका छौं ।’

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार अत्यन्त चिसोमा राख्नुपर्ने खोप २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने खोपको दाँजोमा ३ देखि ६ गुणा महँगो देखिएको छ । बाल स्वास्थ्य तथा खोप शाखाले सामान्य अवस्थामा डब्लूएचओले मान्यता दिएको खोप मात्र प्रयोग गर्दै आएको छ । आकस्मिक अवस्थामा समेत तोकिएको विशेष प्रक्रिया अपनाउँदै खोप प्रयोग गर्न सकिने गरी सरकारले अध्यादेशमार्फत औषधि ऐन संशोधन गरिसकेको छ ।

सीईओ पुनावालाले केही खास अवस्थामा ९० प्रतिशत प्रभावकारी देखिएको कोभिसिल्डको एक सय मिलियन (१० करोड) मात्रा (डोज) जनवरीबाट उपलब्ध हुने र फेब्रुअरी अन्तसम्म सयौं मिलियन तयार हुने जनाएका छन् । एक डोज खोप फार्मेसीबाट करिब एक हजार भारतीय रुपैयाँमा उपलब्ध हुने बताइएको छ । तर सरकार (भारत) ले ९० प्रतिशत खोपको २ सय ५० भारुमा किन्न सक्ने पुनवालाले जनाए । यो खोप दुई डोज लगाउनुपर्छ ।

यो खोपलाई धेरै संख्यामा निर्माण गर्न सीआईआईले भारत सरकारसँग सम्झौता गरेको उल्लेख गर्दै पुनावालाले हाल करिब ४० मिलियन (४ करोड) खोप उत्पादन गरिसकेको उल्लेख गरेका छन् । यो खोपको अधिकतम खुद्रा मूल्य (एमआरपी) १ हजार भारु तोकिएको छ । आईसीएमआर र एसआईआईले अर्को खोप ‘कोभोभ्याक्स’ को क्लिनिकल विकासका लागि समेत मिलेर काम गरिरहेका छन् । कोभोभ्याक्सलाई अमेरिकी कम्पनी नोभाभ्याक्सले प्रारम्भिक रूपमा तयारी गरेको हो । मिडिया रिपोर्टका अनुसार नोभाभ्याक्सले एसआईआईसँग सन् २०२१ मा करिब एक अर्ब मात्रा आपूर्ति गर्ने सम्झौता गरेको छ ।

भारतमा जनवरीबाट जोखिम समूहले खोप पाउने सम्भावना

अक्सफोर्ड विश्वविद्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार अन्तरिम तथ्यांकले कोरोना खोप ७०.४ प्रतिशत प्रभावकारी देखिएको छ । यो दुई चरणमा गरिएको परीक्षणले यो ९० प्रतिशत प्रभावकारी हुन सक्छ ।

अक्सफोर्डद्वारा विकसित खोप माइनस २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । अक्सफोर्डको खोप एउटा भाइरसबाट बनेको छ, जुन सामान्य एडेनो भाइरस (सामान्य रुघाखोकी) को कमजोर संस्करण हो । यसलाई मानिसमा विकसित हुन असम्भव बनाउनका लागि आनुवांशिक रूपले परिवर्तन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार अक्सफोर्ड र एस्ट्राजेनेकाको यो खोप आकस्मिक उपयोगका लागि भारतले बेलायतसँग अनुमति मागेको छ । बेलायतले खोप प्रयोग गर्न अनुमति दियो भने भारतमा तेस्रो चरणको परीक्षणअघि नै कोभिसिल्डलाई स्वीकृति मिल्न सक्छ । यसरी सन् २०२१ को सुरुमै भारतका जोखिम समूहले खोप पाउन थाल्ने सम्भावना छ ।

भारतमा परीक्षण सफल भएको खोप नेपालमा सजिलै प्रयोग गर्न सकिने विज्ञहरूको भनाइ छ । नेपाल र भारतको हावापानी लगभग उस्तै भएकाले उता परीक्षण सफल भएको खोप यता प्रयोग गर्न सहज हुनेछ ।

प्रकाशित : मंसिर १०, २०७७ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×