कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अज्ञात समूहले एक्स्काभेटर जलायो

प्यूठान,रोल्पा — रोल्पा र प्यूठानको सिमानामा पक्की पुल निर्माण गरिरहेको ठेकेदार कम्पनीको एउटा एक्स्काभेटर मंगलबार राति अज्ञात समूहले जलाइदिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचानका लागि दुवै जिल्लाका प्रहरी परिचालन गरिएको जनाएको छ।

केही व्यक्ति सम्मिलित उक्त अज्ञात समूहले पुल निर्माण गरिरहेको आँसु निर्माण सेवा प्यूठानको एक्स्काभेटर जलाएको हो। प्यूठानको स्वर्गद्वारी नगरपालिका र रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सिमानामा पर्ने घोराखोला (घोडागाउँ जाने सडक) को पुल निर्माणको कामको लागि उक्त एक्स्काभेटर प्रयोग हुँदै आएको थियो। आँसु निर्माण सेवा कम्पनीको २०५ नम्बरको एक्स्काभेटरमा ठूलो क्षति पुगेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।

'मेसिन जलाउन अज्ञात समूह रातको १० बजेतिर आएको अनुमान छ', डीएसपी सुवेदी भन्छन्, 'घटनाका दोषीको खोजी भइरहेकै छ।' उक्त घटनामा तीन जना अपरिचित व्यक्ति आएको हुनसक्ने स्थानीयलाई हवाला दिँदै प्रहरीले जनाएको छ। एक्स्काभेटरको सुरक्षार्थ त्यहीँ सुतेका अपरेटरलाई उक्त समूहले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । डीएसपी सुवेदीले स्थानीय एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

सडक पूर्वाधार कार्यालय रोल्पाबाट पुल निर्माणको ठेक्का पारेर निर्माण सेवाको मेसिन एक महिनादेखि घोराहखोलामा पुल निर्माणको काममा थियो । उक्त पुल प्युठान र रोल्पा जोड्ने सडकअन्तर्गत पर्छ।

प्रकाशित : मंसिर १०, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?