काठमाडौँ — कोभिड महामारीका कारण २०७६ चैतदेखि बन्द रहेका केवलकार, संग्रहालय , जंगल सफारी लगायतका पर्यटकीय गतिविधि भटाभट खुला हुन थालेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार निजी संग्रहालय र जंगल सफारी ७ महिनापछि बिहीबारदेखि सञ्चालनमा आएका छन् । ‘निजी क्षेत्रले सञ्चालन गरेका संग्रहालय, जंगल सफारी खुला भए,’ मन्त्रालयका सहायक प्रवक्ता राजन पौडेलले बिहीबार साँझ कान्तिपुरसँग भने, ‘सरकारी संग्रहालय आइतबारदेखि खुल्दैछन् ।’ सरकार मातहत नारायणहिटी, हनुमानढोका, पाटन, छाउनी, भक्तपुर र गोरखा दरबार लगायतका संग्रहालय छन् । यी संग्रहालय स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार, आइतबारदेखि सञ्चालनमा ल्याइने भएका हुन् ।
मन्त्रालयका अनुसार सिनामंगलमा नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा क्याप्टेन वेद उप्रती ट्रष्टले सञ्चालन गरेको हवाई संग्राहलय र धनगढीमा रहेको एयरक्राफ्ट म्युजियम लगायतका स्थल बिहीबारदेखि खुला भएका छन् । गोरखाको मनकामना र दोलखास्थित कालिन्चोकमा रहेको केवलकार भने सञ्चालनमा आएका छैनन् । ‘पर्यटकीय गतिविधि हुने केवलकार खुले तर धार्मिक स्थल खुला नभइसकेकाले गोरखाको मनकामना र कालिञ्चोक सञ्चालनमा आइसकेका छैनन्,’ मनकामना केवलकारका नायब महाप्रबन्धक उज्वल शेरचनले भने ।
तर चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्सले असोज १ गतेदेखि नै केवलकार सञ्चालनमा ल्याइसकेको छ । सरकारले असोजदेखि आन्तरिक उडान तथा होटलहरु खुला गरेसँगै केवलकार सञ्चालनमा ल्याएको थियो । सहायक प्रवक्ता पौडेलका अनुसार, सरकारमातहतका संग्रहालय पुरातत्व विभागले अनुगमन गर्ने छ भने निजी क्षेत्रका केवलकार, संग्रहालय, सफारीको अनुगमन पर्यटन विभाग, पर्यटन बोर्ड र मन्त्रालयले संयुक्त रुपमा गर्ने छन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गर्न अनुमती दिएको थियो । पर्यटन मन्त्रालयका अनुसार, सरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिएपनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार मातहतका जिल्लालाई नै दिइएको छ ।
प्रकाशित : मंसिर ४, २०७७ २०:११