बलात्कारपछि हत्याको आरोप

कपिलवस्तु — मायादेवी गाउँपालिका–२ मनखोरियास्थित एक परिवारले १७ वर्षीया युवतीको बलात्कारपछि हत्या गरिएको आरोप लगाएका छन् । गत कात्तिक २९ गते राति स्थानीय एक युवतीको बलात्कारपछि हत्या गरिएको मृतकका परिवारले आरोप लगाएका हुन् ।
परिवारका अनुसार ती युवतीको शव बिहान ४ बजे घरनजिकै आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । स्थानीय चार व्यक्तिले छोरीको बलात्कार गरेर हत्या गरी रुखमा झुण्ड्याएको मृतकका बाबुले आरोप लगाए ।
‘राति छोरी घरबाट हराइन्,’ उनले भने, ‘बिहान ४ बजे छोरीको शव रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा पाइयो ।’ घटना खुल्ने डरले हत्या गरेर पासो लगाएर ‘आत्महत्या’ देखाइएको उनको आरोप छ । युवती र स्थानीय एक युवकबीच प्रेम सम्बन्ध रहेको र ४ महिनाअघि दुवैलाई गाउँकै एक जनाको घरमा आफूले फेला पारेको उनले बताए । त्यतिबेला दुवैलाई आइन्दा यसरी भेट गरे राम्रो नहुने भनेर हप्काएको उनले सुनाए । ती युवकलाई एक–दुई थप्पड हानेको समेत बाबुले बताए । घर पुगेर छोरीलाई पनि उनले एक–दुई थप्पड हानेका थिए । थप्पड हानेकै कुरालाई इख लिएर छोरीको बलात्कारपछि हत्या गरेको बाबुले बताए ।
शव झुण्डिएको रुखको हाँगामाथि हात थियो । चप्पल लगाएको, खुट्टामा हिलो लागेको थियो । पासोसमेत पूरा बाँधिएको थिएन । आरोपितका परिवारले युवतीले आत्महत्या गरेको दाबी गरेका छन् । ‘अहिलेसम्म हत्या हो भन्ने खालको प्रमाण छैन,’ प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘सघन अनुसन्धान थालेका छौं ।’ अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने उनले बताए । बाबुले सुरुमा भुण्डिएर छोरीले आत्महत्या गरेको जाहेरी प्रहरीमा दिएको प्रहरीले जनाएको छ । पछि फेरि उनले बलात्कारपछि हत्या भएको आरोप लगाउँदै किटानी जाहेरी दिएका छन् ।
प्रकाशित : मंसिर ४, २०७७ १८:४४