तिलोत्तमाका सामुदायिक विद्यालयमा नर्स

विद्यार्थीलाई स्वास्थ्य सेवा तथा परामर्श दिन तिलोत्तमा नगरपालिकाले १२ विद्यालयमा नर्स खटाएको छ । कोरोनाका कारण विद्यालय बन्द रहेकाले उनीहरू संक्रमितको समस्या बुझ्न र परामर्श दिनमा जुटेका छन् ।
सन्जु पौडेल

तिलोत्तमा — चार वर्षदेखि उनी स्थानीय निजी अस्पतालमा काम गरिरहेकी थिइन् । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत तिलोत्तमा नगरपालिकाले नर्स माग गरेपछि तिलोत्तमा नगरपालिका–१ की प्रतिष्ठा घिमिरेले आवेदन दिइन् । गत कात्तिक १७ मा नगरपालिकाले १२ नर्स छनोट गरेकामा उनी पनि समेटिइन् ।

तिलोत्तमाका सामुदायिक विद्यालयमा नर्स

‘करारमा नियुक्ति भएकाले राम्रै हुन्छ भन्ने आशाले जागिर पाउँदा खुसी लाग्यो,’ उनले भनिन्, ‘धेरै कुरा सिक्ने अवसर पनि पाइने विश्वास छ ।’ निजी अस्पतालमा दिनरात नभनी खटिनुपर्ने बाध्यता विद्यालयमा भने नरहेको उनले सुनाइन् । विद्यालयमा बिहान १० देखि अपराह्न ४ बजेसम्म काम गर्न सहज हुने बताइन् ।

बुटवल उपमहानगरपालिका–९ की सृजना पाण्डेले समेत विद्यालयमा नर्सको जागिर पाइन् । निजी अस्पतालमा ३ वर्षभन्दा बढीको अनुभव सँगालेकी उनले घरपायक र समय तालिका मिल्ने भएकाले निजी अस्पतालको जागिर छाडेर विद्यालयमा अनुबन्ध भएको बताइन् । ‘अहिले कोरोना संक्रमितको घरघरमा गएर परामर्श दिँदै हिँडेका छौं,’ उनले भनिन्, ‘विद्यालय खुलेलगत्तै विद्यालयमै काम सुरु हुन्छ ।’

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ सेवा कार्यक्रम सुरु भएको छ । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत संघीय सरकारको बजेटमार्फत तिलोत्तमामा पहिलो चरणमा १२ वटा सामुदायिक विद्यालयमा यो सेवा सुरु भएको हो । एउटा विद्यालयमा एक जना नर्स खटाउने गरी १२ जना नर्स नियुक्त गरी नर्सिङ सेवा कार्यान्वयनमा ल्याइएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । ‘अहिले विद्यालय बन्द रहेकाले नगरपालिकाको वडा–१ देखि ११ सम्म नर्स खटिएका छन्,’ उनले भने, ‘बिहान १० देखि अपराह्न ४ बजेसम्म उनीहरू संक्रमित र क्वारेन्टाइनमा रहेका स्थानीयको सम्पर्कमा पुगी आवश्यक जानकारी दिने र समस्याबारे बुझ्ने गरेका छन् ।’

कार्यक्रमअनुसार नर्सले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था र मापदण्डअनुसार भए/नभएको यकिन गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको उपचार गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घरोग लागेका विद्यार्थीको कार्ययोजना बनाई स्वास्थ्य सेवा प्रदान गर्ने गर्छन् । उनीहरूलाई नियुक्तिपछि ४ दिन प्रशिक्षण दिइएको थियो ।

विद्यालयमै स्वास्थ्य सेवा पाउँदा बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए । ‘यो कार्यक्रमले सामुदायिक विद्यालयमा थप आकर्षणसमेत बढाउनेमा विश्वस्त छौं,’ उनले भने, ‘विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमै उपचार सेवा पाउनेछन् ।’

पहिलो चरणमा शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलीगढ, जनहित, गौतम बुद्ध, जनता, जनज्योति, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविमा नर्सिङ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यी विद्यालयमा २/२ वटा कोठा स्वास्थ्य कक्षका लागि छुट्याइनेछ । उक्त कक्षमा स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराइने र सेवा प्रवाह गर्ने पौडेलले बताए । साथै नर्सले विभिन्न समयमा कक्षाकोठामा गई विद्यार्थीलाई आवश्यक परामर्शसमेत दिनेछन् ।

नगरपालिकाले नर्सिङ कार्यक्रम सञ्चालनका लागि विद्यालयलाई ४७ लाख रुपैयाँ बजेट निष्कासन गरेको छ । जसमध्ये प्रत्येक विद्यालयले ३ लाख ९१ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । विद्यालयले खरिद गरेको औषधि अपुग भएमा नगरपालिकाले दिने पौडेलले बताए ।

विद्यालयमै स्वास्थ्य सुविधा प्राप्त हुने भएपछि हरेक विद्यार्थीले स्वास्थ्यसम्बन्धी समस्या खुलेर बताउने र बेलैमा उपचार पाउन सक्ने तिलोत्तमा–१७ मा रहेको बरौलिया माविका प्रधानाध्यापक घनश्याम चौधरीले बताए । ‘छात्राहरूका लागि यो कार्यक्रम विशेष सहयोगी बन्ने देखेको छु,’ उनले भने, ‘उनीहरूलाई आइपर्ने समस्याको समाधान र स्वास्थ्यसम्बन्धी जानकारीले पछिसम्मका लागि सहयोग गर्नेछ ।’ यस्तो सुविधाले अभिभावक र विद्यालयलाई समेत अघि बढ्न मार्गनिर्देश गर्ने चौधरीको भनाइ छ ।

तिलोत्तमा विद्यालयमा नर्सिङ कार्यक्रम कार्यान्वयनमा ल्याउने जिल्लाकै पहिलो स्थानीय तह भएको नगरपालिकाको दाबी छ । स्वास्थ्य मन्त्रालयमार्फत उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयअन्तर्गत गत वर्ष ६ वटा विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन भएको थियो भने यस वर्ष उक्त संख्या बढाएर ८ पुर्‍याइएको निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालले बताए ।

प्रकाशित : मंसिर २, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?