कपिलवस्तुमा एक कोरोना संक्रमितको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा एक कोरोना संक्रमितको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना संक्रमणबाट वाणगंगा नगरपालिका–६ का ७९ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको छ ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनी सोमबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकको आइसोलेनमा भर्ना भएका थिए । लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा सोमबारै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । श्वासप्रश्वासमा समस्या देखिएका उनलाई तत्काल आईसीयूमा राख्नुपर्ने बेड खाली नहुँदा फिवर क्लिनिकमै राखेर उपचार गरिएको थियो ।

जिल्लामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ३२ पुगेको छ । सक्रिय संक्रमित १ सय ९ छन् ।

प्रकाशित : कार्तिक २५, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्

धुम्बाराहीमा छलफल गर्नुअघि ओलीलाई भेटे दाहालले

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल हुनुअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । 

फाइल तस्बिर

दाहालले मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका सदस्यलाई छलफलका लागि बोलाएका छन् । त्यसअघि ओलीले भेट्न बोलाएपछि दाहाल बालुवाटार पुगेका थिए ।

ओलीसँगको भेट सकिएपछि दाहाल धुम्बाराही पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । यद्यपि दुई अध्यक्षबीचको छलफलमा के भयो भन्ने जानकारी आइनसकेको छैन ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा सचिवालयका सदस्यबीच अनौपचारिक छलफल हुने बताए । श्रेष्ठका अनुसार छलफलका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको छ ।

कात्तिक २१ मा पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा पार्टीको औपचारिक बैठकको सहमतिका लागि ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय गरेका थिए । त्यही निर्णयअनुसार कात्तिक २२ मा पुन: धुम्बाराहीमा छलफलपछि दाहालसहितका बहुमत सदस्य ओलीलाई दुई पेज लामो पत्र बुझाउन बालुवाटार गएका थिए ।

औपचारिक बैठकको सहमतिका लागि लिखित आग्रह गर्दै बालुवाटार जाने पाँच नेतामा कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ थिए ।

अध्यक्ष दाहालले पत्र बुझाउँदै दुई दिनभित्र बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए । तर, दुई दिनको समयसीमा सकिँदा पनि ओली बैठकका लागि तयार नभएपछि मंलगबार तिनै सचिवालयका सदस्यबीच छलफल हुने भएको हो ।

प्रकाशित : कार्तिक २५, २०७७ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×