सुनसान बने गाउँका चर्खे पिङ

माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिका–२, फोक्सिङ्कोटका गणेशबहादुर राना अघिल्ला वर्ष घटस्थापनापछि रोटे (चर्खें) पिङ बनाउन व्यस्त हुन्थे । तर यसपटक भने कोरोना कहरमात्र होइन, बेलौजा गाउँमा पहिरोले ५ जनाको मृत्यु भएपछि यसवर्ष गाउँ नै सुनसान छ । बेलौजा गाउँ शोकमग्न छ ।

सुनसान बने गाउँका चर्खे पिङ

भन्ज्याङ्‌मा काठैकाठले बनाएको पिङ राख्न पाएनन् । ‘एकातिर कोरोनाको कहर र अर्कोतिर गाउँ पहिरोका कारण शोकमग्न छ,’ उनले भने, ‘त्यसैले यसवर्ष रोटे (चर्खे) पिङ राखिएन ।’

फोक्सिङकोटमा मात्र दर्जन बढी स्थानमा यस्ता पिङ राखिन्थ्यो । तर यसवर्ष भने कतै पनि यस्ता पिङ देख्न पाइएको छैन । स्थानीय करण रानाका अनुसार कोरोना भाइरस संक्रमणका कारण डर बढेको छ । त्यसैले पनि पिङ राख्ने काम भएको छैन ।

पुस्तौदेखि राख्दै आएका स्थानमा समेत यसवर्ष पिङमा खेल्न कोही पुगेको छैन । ‘कतिपय गाउँमा समुदायमा कोरोना संक्रमण बढेकोछ,’ उनले भने, ‘पिङमा भीडभाड हुने भएकाले स्थानीय तहले पिङ नराख्न भनेकाले पनि राखिएन ।’ फोक्सिङकोटमा मात्र होइन, जिल्लाका अधिकांश स्थानमा यस्ता पिङ देखिन्थे ।


‘दसैंमा चर्खे पिङ खेल्न टोल समुदायमा पुग्ने चलन थियो,’ फोक्सिङकोटका टंकबहादुर सारुमगरले भने, ‘अझ मगर समुदायका युवा चर्खे पिङ राख्न कस्सिने गर्छन् । टोल समुदायमा रमाइलो गर्ने माध्यम यही नै हो ।’ काठै काठले बनेको चर्खे पिङ पहिलेपहिले निकै लोकप्रिय खेल हो । दसैका बेला गाउँका युवायुवती मिलेर त्यस्तो पिङ बनाउँछन् ।

जिल्लाको अर्चले, ज्यामिरे, बहादुरपुर, मित्याल, झडेवा, गोठादी, बीरकोट लगायतका स्थानमा युवाले चर्खे पिङ बनाउछन् । ‘यस वर्ष कोरोना कहरका कारण पिङ खेल्नै नपाइने भयो,’ झडेवाका हरि चौहानले भने, ‘मेला, भलिवल प्रतियोगिता पनि पिङकै कारण राख्न पाइएन ।’ बजारमा खेल्न पाईने ठूला–ठूला चर्खे पिङको सानो र परम्परागत रुप नै गाउँघरमा बनाइने चर्खे पिङ हुन् । त्यस्ता पिङको आफ्नै महत्व छ । युवायुवतीहरु दसैं तिहार आउन थालेपछि पिङ बनाउन जुट्थे ।

दसै र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने उनीहरुलाई चर्खे पिङ बनाउने फुर्सद हुन्नथ्यो । चर्खे पिङ बनाउन समय लाग्छ । काठै काठको बनाउने भएकाले सामुदायिक वनले सजिलै काठ दिन समेत खोज्दैनन् । गाउँका युवायुवतीको भेट हुने थलो पिङ थियो । दसैमा टिका लगाउन हिड्नेहरु आज एक दिन जमिन छाड्नुपर्छ भन्दे रोटे अर्थात् चर्खे पिङ खेल्थे ।

प्रकाशित : कार्तिक ११, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?