२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

८ वर्षअघि म्याद गुज्रेका सामानसमेत बिक्रीमा

माधव अर्याल

पाल्पा — सदरमुकाम तानसेन, हार्थोक लगायतका बजारमा व्यापारीले आठ वर्षअघि म्याद गुज्रेका सामाग्रीसमेत बिक्री गर्ने गरेका छन् । उनीहरुले बिक्री गर्ने म्याद भएका र नभएका एकै स्थानमा राखेर उपभोक्तालाई खुलेआम ठगेका हुन् ।

८ वर्षअघि म्याद गुज्रेका सामानसमेत बिक्रीमा

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा सिल्खानटोलको आयुव स्टोर्सका कस्मेटिक व्यापारीले सन् २०१२ मै म्याद नाघेका श्रृंगारका सामाग्रीका साथै पर्फयुम, क्रिम लगायतका सामाग्री बिक्री गरेको भेटिएको हो । कतिपय सामाग्री २०१३ मै म्याद गुज्रेका समेत अहिले बिक्री गर्ने सामानसँगै राखेका थिए ।

‘धेरैअघि नै म्याद गुज्रेका सामाग्री बिक्री गरेको भेटिएको छ,’ जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले भनिन्, ‘नमुना छनोट गरेर पसलमा अनुगमन गरेका थियौं । तर पसलमा त्यति धेरैअघि म्याद गुज्रेका सामाग्री रािखएको होला भन्ने कल्पना नै गरिएको थिएन ।’ उनका अनुसार महिलाले प्रयोग गर्ने श्रृंगारका सामाग्रीहरुमा बढी म्याद गुज्रेका सामाग्री राख्ने गरेको भेटिएको छ । म्याद गुज्रेका सामाग्री जफत गरिएको र बाँकी पसलमा पनि दसैंपछि पुन: अनुगमन गरिने उनले बताइन् ।

तानसेन बसपार्कस्थित होटल डायमण्डको मिष्ठान्न पसलमा म्याद गुज्रेका चकलेट बिक्री गरेको पाइएको छ । सोही होटलले एक वर्षअघि नै म्याद नाघेको बोतलको पानी बिक्री गरेको फेला परेको छ । ‘बिक्री गर्न फ्रिजमा चिसो बनाएर राखेको पानीको म्याद एक वर्षअघि गुज्रिसकेको छ,’ उनले भनिन्, ‘ होटलमा म्याद नाघेका ब्राण्डेड चकलेट भेटिएको छ ।’ वर्षौंअघि म्याद नाघेका चकलेटसमेत होटलमा बिक्री गर्न राखिएको थियो । छड्के अनुगनका क्रममा हल्का पेय पदार्थ, सस, ससेज, सोंफ लगायतका सामग्री म्याद नाघेको अवस्थामा फेला परेको प्रशासनले जनाएको छ । प्रशासनले मासुपसल, दूध डेरी (श्रीनगर) कस्मेटिक र किराना पसल गरी चार व्यापारीलाई तारेखमा राखेको प्रशासकीय अधिकृत श्रेष्ठले बताइन् ।

मासु पसल र दूध डेरीमा समेत समस्या देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले म्याद गुज्रेका सामाग्री जफत गरी नष्ट गरिएको बताए । उनले तीन पसललाई पत्र काटिएको जनाए । ‘चाडपर्वका बेला उपभोक्तालाई विभिन्न बहानामा ठग्ने प्रवृत्तिलाई निरुत्साहन गर्न अनुगमन गरिएको हो,’ उनले भने, ‘यसबाट उपभोक्तालाई फाइदा पुग्छ र व्यापारी पनि सचेत हुन्छन् भन्ने लाग्छ ।’ स्थानीय तहले अनुगमनलाई तिव्रता नदिएकाले नै अहिलेको परिस्थिति आएको हो ।

उपभोक्ता ठग्ने व्यापारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने उनले बताए । अहिलेसम्म व्यापारीलाई कारबाही भने भएको छैन । तानसेनका अधिकांश खुद्रा तथा खाद्यान्न पसल, दूध डेरी, वधशाला, मासु पसल, फेन्सी पसल, कस्मेटिक पसलमा अनुगमन गर्ने र सामाग्री जफत गरेर छाड्ने गरिएको छ । ‘तानसेनमा मासु पसल र दूध डेरीमा कहिल्यै सुधार आएको छैन,’ उपभोक्ता सतिश अधिकारीले भने, ‘खाद्यान्न र कस्मेटिकमा पनि यस्तो प्रवृत्ति दोहोरिन थालेको छ ।’ व्यापारीले मूल्य सूची राख्दैनन् । कतिपयले साइनबोर्ड राखेका हुन्नन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, संचारकर्मीको समेत सहभागितामा अनुगमन गरिएको हो । अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगर्ने पसललाई त्यसै छाड्ने गरिएको छ । नापतौलको अनुगमन नै भएको छैन । म्याद नाघेको सामग्री छ्यापछ्याप्ती बिक्री भएको सधैं भेटिने गर्छ । त्यस्ता पसललाई हरेक पटकको अनुगमनमा निर्देशन दिइन्छ । त्यसको पालना गरेका हुन्नन् । कारबाही पनि हुँदैन । ‘फेरि गल्ती गर्दैनौं भनेपछि छाड्ने प्रवृत्ति भएकाले गल्ती कमजोरी सधैं हुन्छ,’ अनुगमनमा सहभागी मिलन विकले भने, ‘पूर्ण रुपमा निर्देशन पालना गरे वा नगरेको पुन: जाँच गरिँदैन ।’ धेरै व्यापारीले अधिकांश मापदण्ड पूरा गरेका हुन्नन् । उनीहरुलाई कारबाही समेत हुँदैन ।

अघिल्लो वर्ष दसैं, तिहारका बेलामा अनुगमन गर्दा लाखौं मूल्यको हल्का पेयपदार्थ जफत भएको थियो । तर व्यापारीलाई कारबाही भने भएन । रिब्दीकोट गाउँपालिकाले हार्थोक, कुसुमखोला, बतासे लगायतका बजारमा अनुगमन गरेको छ । जनस्वास्थ्य अधिकृत सुनिल अधिकारीका अनुसार ग्रामीण भेगमा म्याद गुज्रेका सामाग्री बढी भेटिएको छ । ‘पानीको बोतल, कस्मेटिक, म्याद गुज्रेका सामाग्री बढी भेटिएको छ,’ उनले भने, ‘समय समयमा बजार अनुगमन गर्नुपर्छ भन्ने यसले देखाएको छ ।’

प्रकाशित : कार्तिक ८, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?