लुम्बिनीका सबै जिल्ला अस्पतालबाट कोरोना उपचार गरिने- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनीका सबै जिल्ला अस्पतालबाट कोरोना उपचार गरिने

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशमा कोरोना विशेष अस्पतालबाहेकका सरकारी अस्पतालबाट समेत कोरोना उपचार गरिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा शुक्रबार बुटवलमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्य सेवा प्रभावित नहुने गरी प्रदेशका सबै जिल्ला अस्पतालमा ५ बेडबाट कोरोना उपचार सुरु गर्ने निर्णय लिएको हो ।

लुम्बिनीमा १२ जिल्ला अस्पताल छन् । उक्त सेवा स्थापना गर्न केन्ऽ सरकारबाट प्राप्त सहयोगलाई परिचालन गर्ने र नपुग रकम प्रदेश सरकारसाग माग गरिने केन्द्रले जनाएको छ । यस्तै जटिल खालका बिरामीका लागि तत्काल बुटवलको कोरोना अस्पतालमा ‘हाइडिपेन्डेन्सी युनिट’ थप्ने बैठकको निर्णय छ ।

यस्तै केन्द्रले लक्षण देखिएका शंकास्पद बिरामीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । लक्षण भएका बिरामीलाई अनिवार्य परीक्षणको दायरामा ल्याउन यस्तो व्यवस्था गरिएको हो ।

बैठकले आफ्नै खर्चमा परीक्षण गर्न चाहने व्यक्तिलाई सहज रूपमा सशुल्क परीक्षणको व्यवस्था गर्ने र परीक्षणको नतिजा प्रयोगशालाहरूले अनिवार्य रूपमा जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन मिलाउने निर्णय गरेको छ ।

लक्षणसहितका बिरामीको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गरिने भए पनि उक्त खर्च संक्रमितले पाउने बिमाबाट कटाइने र बिमा रकमभन्दा बढी खर्च भए त्यो सरकारले नै बेहोर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

यस्तै सम्भावित उच्च संक्रमणबाट जोगिन अस्पतालमा कार्यरत डाक्टरलगायत स्वास्थ्यकर्मीको निश्चित समयावधिभित्र लक्षण नभए पनि कोभिड जााचको व्यवस्थासहितको आवश्यक योजना सामाजिक विकास मन्त्रालयले तयार गरी लागू गर्ने केन्द्रले निर्णय गरेको छ ।

होम आइसोलेसनमा बस्ने संक्रमितलाई नियमित निगरानीमा राख्ने गरी स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोली बनाउन स्थानीय तहलाई बैठकले निर्देशन दिएको छ । होम आइसोलेसनमा बस्नेको स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड, आकस्मिक उद्धारलगायतको व्यवस्था र आवश्यक तथ्यांक नियमित संकलन गर्न आवश्यक संयोजन र समन्वयको व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई मिलाउन निर्देशन दिइएको छ ।

प्रकाशित : कार्तिक ७, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दसैंको शुभकामना सन्देश व्यक्त गरेका थिए । सन्देशमा प्रयोग गरिएको निशान छाप पुरानो रहेको भन्दै प्रश्न गरिएको छ- कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा खोइ ?

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसँगै नेपालको निशान छापको पनि प्रयोग गरेका थिए । उक्त निशान छापमा रहेको नक्सामा नेपालको पुरानै नक्सा राखिएको भन्दै प्रश्न उठेको हो । प्रधानमन्त्री ओलीले प्रयोग गरेको निशान छापमा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विरोध गरेका छन् ।

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसपछि तीन क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सा संशोधन गर्नका लागि संविधान पनि संशोधन गरिएको थियो । हाल यही नक्सा प्रयोगमा छ । तर, प्रधानमन्त्री ओलीले नै संसदबाट पारित भएको नक्सा प्रयोग नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक दलका नेताहरूले विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले लिम्पियाधुरा क्षेत्र भएको नक्सा प्रयोग नगर्नुलाई त्रुटि मान्न नसकिने बताएका छन् । ट्वीटरमा उनले लेखेका छन्, 'लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ? गम्भीर विमती दर्ज होस् ।'

कालापानी क्षेत्र फिर्ता गर्ने भनेर प्रधानमन्त्री ओलीले गर्दै आएको भाषणतर्फ संकेत गर्दै शर्माले अगाडि लेखेका छन्, 'देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?'

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निशान छापमा रहेको नक्सामा लिम्पियाधुरा क्षेत्र नभएको भन्दै सच्याउन आग्रह गरेका छन् भने केहीले भारतीय खुफिया एजेन्सी 'रअ'का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले गरेको पछिल्लो भेटको प्रभाव भनेर पनि आलोचना गरिरहेका छन् ।

प्रकाशित : कार्तिक ७, २०७७ १३:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×