कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाल्पाको दसैंघरमा फूलपाती भित्र्याइयो

माधव अर्याल

पाल्पा — दसैंको सातौं दिन शुक्रबार पाल्पाको तानसेनस्थित ऐतिहासिक दसैंघरमा फूलपाती भित्र्याइएको छ । तत्कालीन जनरल कर्णेल उजिरसिंह थापाले दुई सय वर्षअघि स्थापना गरेको दसैंघरमा फूलपाती भित्र्याइएको हो । 

पाल्पाको दसैंघरमा फूलपाती भित्र्याइयो

जिल्ला प्रशासन कार्यालय परिसर सिल्खान टोलस्थित दसैंघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ । सिलेखाना परिसरमा रहेको कोतघरमा पनि दैनिक सैनिक सलामीसहित पूजाआजा गरिन्छ । यहाँ पनि पनि फूलपाती भित्र्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी, सैनिक, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दसैंघरबाट बाजागाजासहित फूलपाती लिन टुँडिखेलस्थित नागपोखरीमा जाने चलन छ ।

स्थानीयका अनुसार यहाँ पनि टुंडिखेलमा जस्तै बढाइँ गर्ने र सलामी दिने चलन थियो । तानसेनमा गोरखाबाटसमेत फूलपाती ल्याउने शाहवशीय परम्परा थियो । पछिल्लो केही वर्षयता भने परम्परा धान्नका लागि मात्रै दसैंघरमा पूजा गर्ने गरिएको छ । सैनिक, प्रहरी र प्रशासनले मात्रै यो परम्परा धानिरहेका छन् ।

दरबारबाट बाजा बजाउँदै असनटोल, नारायणटोल हुँदै नागपोखरीमा फूलपाती लिन जाने परम्परा भए पनि यस वर्ष कोरोनाका कारण भिडभाड गरिएन । बाजा पनि बजाइएन । तानसेन, वसन्तपुर र विभिन्न स्थानबाट संकलन गरेर ल्याइएको १० किसिमको फूलपाती पूजाआजासहित पुनः बजार परिक्रमा गरी दसैंघरमा भित्र्याउने चलन छ । जिल्लाका मुझुङ, छहरा, भुवनपोखरी, बौघागुम्हा, मस्याम, वीरकोट, जब्गादी, सिलुवा, रामपुरलगायत स्थानमा रहेका कोतघरका साथै स्थानीयका घरमा पनि फूलपाती भित्र्याइएको छ ।

प्रकाशित : कार्तिक ७, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?