तिलोत्तमा नगरपालिकाले संक्रमितको शव व्यवस्थापन र पहिलो पीसीआर परीक्षण नि:शुल्क गरिदिने

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरवासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नैं लिने निर्णय गरेको छ ।

तिलोत्तमा नगरपालिकाले संक्रमितको शव व्यवस्थापन र पहिलो पीसीआर परीक्षण नि:शुल्क गरिदिने

कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरवासीको शव व्यवस्थापन नगरपालिका आफैंले गर्ने निर्णय गरेको हो । यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो ।

शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि नगरपालिकाले आफ्ना नगरवासीका लागि शव व्यवस्थापनको जिम्मेवारी लिएको कार्यवाहक प्रमुख चौधरीले बताइन् । ‘बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ, उनले भनिन्, ‘कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत नि:शुल्क गर्ने निर्णय गरेका छौं ।’

तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ३ सय २५ जना सक्रिय संक्रमित छन् ।

बैठकले कन्ट्याक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत नि:शुल्क गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाको नगरपालिकाको खर्चमा पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो । संघीय सरकारले सबैको पीसीआर परीक्षण समेत नि:शुल्क नगर्ने निर्णय सार्वजनिक गरिरहँदा तिलोत्तमा नगर सरकारले त्यसको जिम्मेवारी समेत आफैले लिने निर्णय गरेको हो।

यस्तै नगरपालिकाले शंकरनगर आइसोलेसन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गर्ने निर्णय समेत गरेको छ । कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्युवरण गर्न परिरहेका खबर आइरहँदा तिलोत्तमाले आइसोलेसनमा अक्सिजन सिलिन्डरको संख्या ६ बाट २० पुर्‍याउने निर्णय गरेको हो । हाल आइसोलेसनको क्षमता ४० बेड रहेकोमा बेडको संख्या पनि बढाउने निर्णय सिसिएमसी बैठकले गरेको चौधरीले जनाइन् ।

बैठकले दसैं–तिहार पर्वमा बाहिरी जिल्ला तथा भारत एवं तेस्रो मुलुकबाट नगरपालिकामा आउने नगरबासीलाई स्वास्थ्य प्रोटोकललाई ख्याल राख्दै सिधै समाजमा घुलमिल नहुन आग्रह गरेको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?