रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणा- लुम्बिनी - कान्तिपुर समाचार

रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणा

हरि गौतम

रुकुम पूर्व — लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशले प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्वलाई अर्गानिक घोषणा गरेको हो । प्रदेश सरकारको प्रतिनिधिको रुपमा रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको पहलमा अर्गानिक जिल्ला घोषणा गरिएको हो ।

प्रदेशकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला अब अर्गानिक जिल्लामा दर्ज भएको बताइन् । अर्गानिक जिल्ला घोषणाका लागि मन्त्री पौडेल जिल्ला पुगेकी थिइन् ।

अरु जिल्लाको भन्दा धेरै क्षेत्र र बस्तीहरु अर्गानिक नै रहेकाले यसैलाई अर्गानिक जिल्ला घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारको नीति तथा कार्यक्रममा रुकुम पूर्वलाई अर्गानिक कृषि उत्पादन जिल्ला बनाउने उल्लेख गरेको थियो ।

अर्गानिक जिल्ला कार्यान्वयनका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ । विभिन्‍न शीर्षकमा विनियोजित उक्त बजेटबाट जिल्लालाई पूर्ण अर्गानिक गराउन विभिन्न कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ।

जिल्लाका तीन वटै सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा भेडा(बाख्रा मिसन कार्यक्रम, मासु उत्पादनका लागि बाख्रा पालन कार्यक्रम, प्रांगारिक मलमा अनुदान, तरकारी प्रवर्द्धन कार्यक्रम, माटो सुधार कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, सुन्तला, स्याउ, ओखर, आलु, लसुन, टिम्मुर, मह उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रकाशित : कार्तिक १, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्‍चिममा सबैखाले मेलामा रोक

हरि गौतम

रुकुम पश्चिम — कोरोना संक्रमण बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको छ । रुकुममा घटस्थापनादेखि धार्मिक र परम्परागत मेलाहरु लाग्छन् । ती सबै मेलालाई रोक्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो । 

सामाजिक दूरी कायम गरी सतर्क व्यवहारमा धार्मिक कार्य गर्न भने छुट दिइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । ‘सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो,’ उनले भने, ‘चाडपर्व मनाउन पनि निश्चित मापदण्ड बनाएका छौं ।’

जिल्लामा दसैंदेखि धार्मिक, परम्परागत तथा पर्व विशेषका मेलाहरु हप्तैपिच्छे लाग्छन् । डिग्रे शाईकुमारी, चौतारा, चिसापानी, बेलटापु, कुनाखेत, शंखपिपललगायत मेला जिल्लाका ठूला मेला मानिन्छन् ।

प्रशासनले सूचना जारी गरेसँगै ५ दिनसम्म लाग्ने डिग्रेमेला पनि यो वर्ष नलाग्ने भएको हो । मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउँछन् । डिग्रेमेला हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने गर्छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×